पिसिआर रिपोर्टः जनकपुरमा नेगेटिभ, काठमाडौंमा पोजिटिभ



जनकपुर, बैशाख १२

अब प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको कोरोना परीक्षणका नमूना पुनः परीक्षणका लागि काठमाडौं समेत पठाइने भएको छ ।

परीक्षणका क्रममा सर्लाहीका बालकको नेगेटिभ देखिए पनि काठमाडौंमा परीक्षण गराउँदा पोजेटिभ देखिएपछि यो अस्पतालमा हुने परीक्षण पुनः परीक्षण गरिने भएको हो ।

सर्लाहीको धनकौल गाउँपालिका ५ का १४ वर्षीय किशोर गत वैशाख ५ गते प्रादेशिक अस्पताल जनकपुरधाममा पीसीआर टेस्ट गराउँदा नेगेटिभ रिपोर्ट आएको थियो । त्यसपछि अस्पतालबाट उनलाई डिस्चार्ज गरियो । तर उनै किशोरको स्वाब काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । त्यसैले मेसिनमै समस्या पो हो कि भन्ने आशंका गरिएको छ ।

‘यहाँ नेगेटिभ देखिने अनि काठमाडौं पठाउँदा पोजेटिभ आउने भएपछि यहाँ गरिएको परीक्षण पुनः परीक्षण गर्न काठमाडौं पठाइने भएको छ,’ प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामबिनय साहले भने, ‘यहाँ भएको जाँच र काठमाडौंमा हुने जाँचले मेसिन ठीक रहेरनरहेको थाहा लाग्छ ।’

जनकपुरधाममा गत चैत २१ गतेदेखि पीसीआर मेसिन स्थापना भई परीक्षण सुरु भएको थियो । यो मेसिनबाट बिहीबारसम्म सय वटा स्वाब परीक्षण भइसकेको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरधाममा मात्रै पीसीआर मेसिन छ । यो मेसिनबाट दैनिक १० वटासम्म स्वाब परीक्षण भइरहेको छ । ठूलो पीसीआरको मेसिन वीरगंजको नारायणी अस्पताललाई दिइए पनि चाहिने अन्य आवश्यक उपकरणहरु उपलब्ध नहुँदा यो मेसिन थन्किएको छ ।

प्रदेश सरकारले राजविराज समेतका लागि पीसीआर मेसिन खरीद गर्ने बताउँदै आए पनि अहिलेसम्म खरीद गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News