पश्चिम नेपालमा वर्षा, सतर्कता अपनाउन आग्रह



काठमाडौं, बैशाख १५

जल तथा मौसम कार्यालय कोहलपुर हाल सुर्खेतले भेरी र कर्णाली नदी क्षेत्र आसपासका बस्तीहरुमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका तल्लो क्षेत्र दैलेख, अछाम, सुर्खेत, जाजरकोट, कैलाली, डोटीलगायतका जिल्लामा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
आजदेखि पर्सि बुधबारसम्म मौसमी प्रणाली सक्रिय रही मध्यमसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । कार्यालय प्रमुख विनोद पराजुलीले तीनै दिन हावाहुरी, चट्याङ र असिना वर्षासमेतको सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार कार्यालयले चार वटा जिल्ला र आसपासका केही स–साना खोलानालाहरुमा आकस्मिक बहाव पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन बबई, कर्णाली, महाकाली जस्ता ठूला नदी आसपासका नागरिकमा सूचना जारी गरेको छ ।

हाल कर्णालीका सुर्खेत, दैलेखसहित आसपासका जिल्लाहरुमा मेघगर्जन, असिना र हावाहुरीसहित वर्षा भइरहेको छ ।
त्यस्तै, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि आज, भोलि र पर्सि कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

पश्चिमी र स्थानीय वायु तथा पूर्वी भू­भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएकाले यसपटक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News