वामदेव गौतमः यसर्थ मिल्दैन प्रधानमन्त्री बन्न



काठमाडौं, बैशाख १८

कोरानाको कहरले मुलुकलाई गाँजेका बेला सत्तारुढ नेकपा भने आन्तरिक शक्ति संघर्षमा होमिएको छ । जसमा बुधबारदेखि नयाँ ट्वीस्ट आएको छ ।

बालुवाटारमा बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको कुरा सार्वजनिक भएपछि वामदेव हौसिएको समाचार बाहिर आएको छ । यसअघि पटक–पटक अनेक कुरामा रमाएका गौतम के प्रधानमन्त्री होलान् ?

सचिवालय सदस्यहरूले आफ्नो राजीनामा मागेपछि प्रधानमन्त्रीले गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउने धारणा राखेका हुन्। संविधानतः भने प्रधानमन्त्रीको प्रस्ताव र गौतम प्रधानमन्त्री बन्ने कुरा दुवै गलत छ । संविधानविदहरु यसको कुनै सम्भावना नभएको बताउँछन् ।

संविधानविद्हरू डा विपिन अधिकारी, डा भीमार्जुन आचार्य र चन्द्रकान्त ज्ञवाली विद्यमान कानूनी व्यवस्थाअनुसार वामदेव गौतम प्रधानमन्त्री बन्न असम्भव रहेको बताउँछन् ।

‘संविधानले प्रतिनिधसभालाई प्रधानमन्त्री बन्ने बनाउने ‘प्रिभेलेज’ दिएको छ । प्रतिनिसभामा नभएका व्यक्ति प्रधानमन्त्री बन्ने कल्पना पनि गरिएको छैन ’, विपिन अधिकारीले भने ‘ राष्ट्रियसभामा लगेर पनि प्रधानमन्त्री बनाउने कुरा पनि सुनिन्छ । तर, यो पनि राम्रो कुरा होइन । उहाँलाई निर्वाचनमा जनताले अस्वीकृत गरेको हो । त्यो निर्वाचनको चक्र सकिएको छैन ।’

संविधानविद् अधिकारीका अनुसार राष्ट्रिय सभामा लगेर मात्रै पनि पुग्दैन । संविधान नै संशोधन गर्नुपर्छ । ‘न यो अहिलेको प्राथमिकता हो, न त यस्तो प्रचलन नै छ’, उनले थपे ‘ बरु उहाँ वामदेवले अर्को निर्वाचनका लागि तयारी गर्दा राम्रो हुन्छ । चुनावै जितेर आउनुभयो भने त कसैले विरोध पनि गर्दैन ।’

‘संवैधानिकरुपमा आजको दिनसम्म बामदेव गौतम प्रधानमन्त्री बन्ने भन्ने कुरा सम्भव छैन । भोलि चमत्कारै भयो भने के हुन्छ भन्न सकिँदैन’, भीमार्जुन आचार्यको मत छ ‘ विद्यमान कानुनअनुसार प्रधानमन्त्री बन्नका लागि सांसद हुनैपर्छ । राष्ट्रिय सभाको सांसद बने पनि प्रधानमन्त्री बन्न सम्भव देखिँदैन ।’

आचार्यका अनुसार प्रतिनिधि सभा सदस्य हुने हो भने प्रधानमन्त्री बन्न नपाउने होइन । तर, उहाँ समानुपातिकबाट प्रतिनिधिसभामा जाने अवस्था छैन । किनभने उहाँको समानुपातीकको सूचीमा नाम गएकै छैन ।

अर्का संविधानविद् डा चन्द्रकान्त ज्ञवाली को प्रधानमन्त्री बन्ने भन्ने कुरामा छलफल गर्नुअघि त प्रधानमन्त्री पद रिक्त हुनुपर्ने बताउँछन् । ‘ प्रधानमन्त्रीज्यूले राजीनामा दिएको छैन, फौजदारी अभियोग लागेको छैन, अविश्वासको प्रस्ताव पनि दर्ता भएको छैन’m उनले भने ‘ जहाँसम्म वामदेव गौतमको कुरा छ, विद्यमान कानूनअनुसार उहाँ प्रधानमन्त्री बन्न सक्नुहुन्न । किनभने, प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्‍यो । संसदीय दलको नेता बन्न सांसद हुनुपर्‍यो । सांसद हुन चुनाव जित्नुपर्‍यो । समानुपातिकबाट सांसद बन्न बन्दसूचीमा नाम हुनुपर्‍यो ।’

उनका अनुसार राष्ट्रियसभाबाट जाने हो भने संविधान संशोधन गर्नुपर्‍यो । अर्थात् उहाँ संवैधानिक रुपमा हेर्दा उहाँलाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News