लकडाउनमा कसरी नेपाल आए संक्रमित ?



काठमाडौं, बैशाख २७
एकातिर लकडाउन, अर्कातिर लुकिछिपी नेपाल प्रवेश । यो श्रृंखला नरोकिँदा नेपालमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ ।

कपिलवस्तुमा फेला परेका थप तीन जना कोरोना संक्रमित युवाहरु यसअघि मुम्बईबाट आएका दुई जना संक्रमितहरुसँगै लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ ।

उनीहरु पाँचै जना यही बैशाख २४ गते राति लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार रातको समयमा नेपाल प्रवेश गरेका उनीहरु पाँचै जना भारतको मुम्बइबाट सँगै आएका थिए ।

आज कोरोना पुष्टि भएका तीन जना र यसअघि फेला परेका दुई जना युवाहरु कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–२ अभिरावका हुन् ।

वडा नं २ का वडाध्यक्ष सफरुद्दिन मुसलमानका अनुसार मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले उनीहरुलाई गाउँमा प्रवेश गर्न नदिइ बाटोमै रोकेर क्वारेन्टाइनमा पठाएका थिए ।

यसअघि कोरोना पुष्टि भएका कपिलवस्तुका २ जना बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा उपचाररत छन् । नयाँ संक्रमित ३ जनालाई पनि आज बुटवल ल्याइँदै छ । उनीहरुमा कोरोना संक्रमण पुष्टि भए पनि लक्षण भने देखिएको छैन ।

उनीहरु पाँचैजना मायादेवी १ को पकडी छत्रपाली माबिमा बनाइएको क्वारेन्टाइनमा थिए । सो क्षेत्रमा हाल आउ–जाउ बन्द गरिएको छ ।

कपिलवस्तुका पाँच जनासमेत गरी प्रदेश ५ मा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३० पुगेको छ । यसअघि बाँकेको नेपालगञ्जमा २४ र रुपन्देहीमा १ जनालाई कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News