नेपालमा पहिलाे पटक स्वास्थ्यकर्मीमा देखियाे कोरोना संक्रमण



कपिलवस्तु, बैशाख ३०
तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया नर्समा कोरोना संक्रमण देखिएको छ । पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा अब समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहरुमा देखिएको संक्रमण अब स्थानीयस्तरमै फैलिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले कपिलवस्तुमा मंगलवार संक्रमण पुष्टि भएका ९ जनामध्ये ८ जना कपिलवस्तु नगरपालिकाका क्वारेन्टाइनमा रहेका र १ जना जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्समा कोरोना देखिएको बताए । ‘८ जना क्वारेन्टाइनमा रहेका र १ जना अस्पतालमा काम गर्ने सिस्टर रहेको जानकारीमा आएको छ,’ उनले भने । अस्पतालकी नर्समा कोरोना संक्रमण भएको नेपालमा पहिलो पटक हो ।

कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो ।

संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसी आफ्नै घरमा जाने गरेकी थिइन् । उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् । संक्रमित स्वास्थ्यकर्मीसहित अरुको स्वाब संकलन गरिए पनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन ।

स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा ८ जना संक्रमित थपिएका छन् । ती सबै कपिलवस्तु नगरपालिकाका बासिन्दा हुन् । जसमध्ये एकजना तौलिहवा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News