खाद्यान्न बोकेको मिनी ट्रकबाट मदिरा बरामद

धनगढी, जेठ ५
धनगढीमा खाद्यान्न बोकेको मिनी ट्रकबाट प्रहरीले मदिरा बरामद गरेको छ । धनगढीबाट अतरियातर्फ गइरहेको से१ख २०१० नम्बरको मिनी ट्रकबाट अस्थायी प्रहरी पोष्ट चटकपुरका प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको टोलीले मदिरा बरामद गरेको हो ।
करिब १ लाख १५ हजार ९ सय २५ रुपैयाँ बराबरको १ सय २६ पेटी रोज नामक मदिरा बरामद गरिएको प्रहरी निरीक्षक चन्दले बताए ।
जिल्लाकै गोदावरी नगरपालिका–४ का ट्रक चालक नरेन्द्रसिंह महरा र धनगढी उपमहानगरपालिका–१३ का मदिरा धनी दिनेश पन्तलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
प्रहरीले उनीहरु दुबैलाई १० दिनको म्याद थप गरी थप अनुसन्धान बढाएको छ ।
प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार