भक्तपुरमा युवतीमाथि सामूहिक बलात्कार, एक पक्राउ


 



भक्तपुर, जेठ ११
भक्तपुरको मध्यपुर थिमिमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । थिमी नगरपालिका ६ पुरानो ठिमीकी एक २० वर्षीया युवती ६ युवाबाट ती सामूहिक बलात्कृतको सिकार भएको भक्तपुर प्रहरीले जनाएको छ । जसमध्ये एकजनालाई प्रहरीले नियन्त्रण लिएको छ । बाँकी पाँचजना भने फरार छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार गएको बिहीबार मध्यपुर थिमि नगरपालिका पुरानो ठिमीमा डेरा गरी बस्ने अन्दाजी २२ वर्षका रोहित गिरीले ती युवतीलाई ललाईफकाई तथा आर्थिक प्रलोभनमा पारी आफ्नै डेरामा लगेर जबरजस्ती करणी गरेका थिए ।

आफूले करणी गरेपछि ती युवतीलाई उम्किन नदिई गिरीले आफ्ना साथी कवाङ लामासहित ४ जनालाई आफ्नो कोठामा बोलाई उनीहरु सबैलाई पालैपालो रातभरि करणी गराएको भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनका अनुसार उक्त दिन रातभरि पालैपालो करणी गरेपछि सबै फरार भएका थिए । सामूहिक बलात्कृत भएकी युवतीले शुक्रबार बिहानै महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा जानकारी गराएपछि उक्त घटना प्रकाशमा आएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

उनका अनुसार पीडित युवतीले दिएको हुलिया र विवरणका आधारमा काभ्रेको तेमाल गाउँपालिका बस्ने मध्यपुर थिमि नपा ६ पुरानो ठिमी नै बस्ने वर्ष २९ का कवाङ लामालाई सोही दिन लुकीछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनलाई आइतबार जिल्ला अदालत भक्तपुरमा उपस्थिति गराइएको थियो । अदालतले १० दिनको म्याद अनुमति लिई लामामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

उनका अनुसार सामूहिक बलात्कारपछि फरार रोहित गिरीलगायतको खोजी भइरहेको छ ।
 

प्रकाशित मिति: ११ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्