चर्चित दोरम्बा हत्याकाण्ड : सेनाका तत्कालिन अधिकृतलगायतलाई कारबाही गर्न सिफारिस


 



काठमाडौं, जेठ १२
द्वन्द्वकालिन चर्चित दोरम्बा हत्याकाण्डमा संलग्न भएको भन्दै सेनाका तत्कालीन अधिकृत र अन्य संलग्नहरुलाई कारबाही गर्न सिफारिस गरिएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले दोषीहरूलाई तत्काल कारबाही गर्न भन्दै सिफारिस गरेको हो । साथै आयोगले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन पनि सिफारिस गरेको छ ।

दोरम्बा घटनाबारे दोषीलाई कारबाही गर्न ओयोगले सिफारिस गरेको आयोगकी सदस्य मोहना अन्सारीले बताइन्। दोरम्बामा शान्ति वार्ता भएपछि बैठक बसिरहेको समयमा १९ जना माओवादी समर्थकहरूलाई सेनाले नियन्त्रणमा लिएर हत्या गरेको थियो।

२०६० साल साउन ३२ गते तत्कालीन सरकारी वार्ता टोली र माओवादी वार्ता टोलीबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको थियो। सरकारी वार्ता टोलीको नेतृत्व डा. प्रकाशचन्द्र लोहनीले गरेका थिए भने माओवादी वार्ता टोलीको नेतृत्व डा. बाबुराम भट्टराईले गरेका थिए।

हापुरेमा वार्ता चलिरहेकै बेला खबर रामेछापको दोरम्बामा शाही नेपाली सेनाले २१ जना माओवादी नेता कार्यकर्ताको सामूहिक हत्या गरेको थियो ।

घटनामा जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङ, इलाका सेक्रेटरी ललिका, जनमिलिसिया प्रमुख रक्तिम, चतुरमान थामी, टेकबहादुर थामा मगर, बिष्णुमाया मगर, पदमराज गिरी, घरधनी युवराज मोक्तान र छोरा लीलालाई पनि सेनाले हत्या गरेको थियो।

यसैगरी उमा कार्की ‘सहारा’, ठूलोराम तामाङ ‘छोप्पा’, सोमई थामी ‘संगिता’, श्याम तामाङ ‘इन्क्लाव’, हर्क घिसिङ ‘यथार्थ’, रवि चौहान ‘समिर’, उषा, हर्कलक्ष्मी राई ‘विमला’, लक्षुमन तामाङलगायतका थिए। 

प्रकाशित मिति: १२ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्