सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आजदेखि, प्रिबजेट पनि आजै प्रस्तुत हुने




धनगढी, जेठ १३
सुदूरपश्चिम प्रदेश सभाको छैठौं तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेश सरकारले यो बेला कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरेर अधिवेशन सञ्चालन आह्वान गरेको छ ।

प्रदेश सभा कक्ष सेनिटाइज गर्ने, सभा परिसरमा मास्क, पञ्जा, सेनिटाइजर लगायतको व्यवस्था गरिएको प्रदेश सभा सचिव रामसिंह धामीले बताए। उनले प्रदेश सभाभित्र पनि आवश्यक दूरी कायम गरी बस्ने व्यवस्था मिलाइएको बताए।

यसैगरी, प्रदेश सभा सदस्य, सचिवालयका कर्मचारी, मर्यादापालक, सांसद्हरुको सवारी चालक र प्रदेश सभा बैठकको समाचार संकलन गर्ने पत्रकार गरी तीन सय जनाको पिसिआर परीक्षण गरिएको छ। सबैको नतिजा नेगेटिभ भएको प्रदेश सभाका सचिव धामीले जानकारी दिए।

प्रदेश सभा सचिव धामीका अनुसार मंगलबारको पहिलो बैठकमा प्रत्येक दलका प्रमुखलाई शुभकामना आदानप्रदान गर्ने समय दिने कार्यसूची तयार गरिएको छ।

अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रि–बजेट ९बजेटको सिद्धान्त, आधार र प्राथमिकता० प्रस्तुत गर्न विशेष समय दिने कार्यसूची बनाइएको सचिव धामीले बताए।

प्रदेश सभा सञ्चालन नियमावली अनुसार प्रदेश सरकारले वार्षिक बजेट प्रस्तुत गर्नुभन्दा एक महिनाअिघ प्रि–बजेट प्रस्तुत गर्ने र नीति तथा कार्यक्रम १५ दिन पहिले प्रदेश सभामा प्रस्तुत गर्नुपर्छ।

तर, कोरोनाका कारण सिर्जित विषम परिस्थिति भएकाले १५ दिन पहिले प्रिबजेट प्रस्तुत गर्ने व्यवस्था मिलाइएको र समय छोटो रहेकाले पहिलो बैठकमै प्रिबजेट प्रस्तुत गर्ने कार्यसूची तयार गरिएको सचिव धामीले बताए। उनले त्यसपछिका बैठकहरुमा प्रिबजेटमाथि छलफल गरिने बताए।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटको प्राथमिकतामा स्वास्थ्य, कृषि, रोजगार, उद्योगलाई राख्ने जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News