नायिकाहरूको नक्कली पोर्न भिडियो सार्वजनिक भएपछि मन्त्रालयकाे पहलमा साइट बन्द



काठमाडौं । नेपाली नायिकाहरूको नक्कली पोर्न भिडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे पहलमा साइट बन्द गराइएकाे छ। कोरोना संक्रमण जोखिमका कारण दुई महिनादेखि जारी लकडाउनले तनाव झेल्नुपरिरहेकै समयमा नक्कली अश्लील भिडियोको आतंकसमेत खेपिरहेका कलाकर्मीहरूलाइ साइट बन्द भएपछि केही हदसम्म तनाव मुक्त भएका छन्।

बारम्बार प्रेस काउन्सिल नेपाल, सूचना विभाग, दूर सञ्चार प्राधिकरण, चलचित्र विकास बोर्डमा समन्वय गरेर साँझमा मात्र आपत्तिजनक साइट बन्द भएको हो । बोर्डका सदस्य सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कानुन शाखा प्रमूख एवं उपसचिव महेन्द्र संखीको समन्वयमा उक्त अश्लील साइट नेपालमा हेर्न नमिल्ने गरी बन्द गरिएको हो ।

मंगलबार मात्र सो साइट र त्यसमा नेपाली अभिनेत्रीहरुको अश्लील सामग्री आएको जानकारी पाएका संखीले दूर सञ्चार प्राधिकरणसँग समन्वय गरी उक्त साइट बन्द गराएका हुन् ।

अश्लील चलचित्रका कलाकारको शरीरमा नेपाली अभिनेत्रीको टाउको जोडेर अश्लील भिडियो तथा तस्वीर अपलोड गरिएपछि यस्तो कुकृत्य गर्ने साइबर अपराधीलाई कडाभन्दा कडा कानुनी कारवाही गर्नुपर्ने आवाज कलाकर्मीले उठाएका छन् ।

नेपाल चलचित्र कलाकार संघको नेतृत्वमा एक टोलीले कलाकारहरुको यस्तो अश्लील भिडियो बनाई भ्रम सिर्जना गरेर चरित्र हत्या गर्ने अपराधीको छानबीन गरी कडाभन्दा कडा कारवाही गर्न महानरीय प्रहरी अपराध महाशाखा टेकुमा मंगलबारै उजुरी दर्ता गराएको छ । पीडित कलाकाहरुका तर्फबाट कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले उजुरी दर्ता गरेका हुन् ।

एक अभिनेत्रीको दुई अश्लील भिडियो सो साइटमा अपलोड गरिएको थियो भने अर्की अभिनेत्रीको पाँच नक्कली भिडियो अपलोड गरिएको थियो । साइटको नाममै फेक (नक्कली) जोडिएको सो पोर्न साइटमा पोर्न कलाकारका साथमा हलिउड र बलिउडका नायिकाहरुको समेत डीपफेक पोर्न भिडियो राखिएको छ ।

पछिल्लो दुई दिनमा दुई जना नायिकाहरूको नक्कली पोर्न भिडियो बनाएर सार्वजनिक गरिएको छ । यस्तै, दर्जन बढी नायिकाहरूको भिडियो सार्वजनिक गर्ने धम्की समेत दिइएको छ । यसले चलचित्रमा काम गर्ने नायिकाहरूलाई मानसिक तनाव दिएको छ । एक अश्लील वेबसाइटले लगातार दुई अभिनेत्रीको नक्कली अश्लील भिडियोलगायतका सामग्री अपलोड गरेपछि नेपाली कलाकर्मी आतंकित भएका थिए। हिजोमात्र एक नायिकाले पनि प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले यस विषयमा तत्काल छानबिन गर्ने बताएको अध्यक्ष खड्काले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News