आज गणतन्त्र दिवस मनाइँदै




काठमाडौं, जेठ १५
आज १३ औं गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईंदैछ ।

नेपालमा २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट आजैका दिन अर्थात् जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो । गणतन्त्र स्थापना भएको आजदेखि १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ ।

२०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।

यो घोषणासँगै राजतन्त्रका अन्तिम उत्तराधिकारी राजा ज्ञानेन्द्र शाहले नारायणहीटीबाट बिदा लिएका थिए । आन्दोलनले सशस्त्र हिंसामा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्यायो ।

दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । यद्यपि कोरोना महामारीका कारण ठूला कार्यक्रम भने हुने छैनन् ।

२०६४ सालको चैतमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

यद्यपि, पहिलो संविधानसभाले मुलुक संघीय गणतन्त्रमा लगे पनि संविधान बनाउन सकेन र २०७२ सालमा दोस्रो संविधानसभाको निर्वाचन गरियो । दोस्रो संविधानसभाले बनाएको संविधान अहिले कार्यान्वयनमा क्रममा छ ।

संविधान कार्यान्वयनकै क्रममा भएका तीन तहका निर्वाचनपछि मुलुकको राजनीतिक संक्रमणकाल सकिएको छ । स्थिर सरकार गठन भएसँगै मुलुक अहिले आर्थिक समृद्धिको दिशामा अघि बढ्दै गएको छ ।

गणतन्त्र स्थापनापछि देशमा राजनीतिक परिवर्तनहरु संस्थागत हुँदै गए पनि जनजिविकाको सवालमा भने सोचे अनुसारको प्रगति हुन सकेको छैन । नयाँ चुनौति थपिएका छन् । राजनीतिक व्यवस्था र प्रणालीमा परिवर्तन भएपनि राजनीतिक दलका नेताहरुको सोच र शैलीमा परिवर्तन नआउँदा समस्या चिर्दै समाधान दिनसक्ने क्षमता भने देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News