डब्लयूएचओको चेतावनी- कोरोनाको अर्को अवस्थाको सामना गर्न तयार रहौं
काठमाडौं, जेठ १७
विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ)ले विश्वका विभिन्न देशमा लकडाउन खुकुलो बन्दै जाँदा कोरोना महामारी झन भयावह हुने चेतावनी दिएको छ ।
डब्लयूएचओका वरिष्ठ अधिकारी डाक्टर डेभिड नबारोले कोरोना भाइरस सङ्क्रमणको अर्को अवस्थाको सामनाका लागि तयार रहनुपर्ने बताए।
ल्याटिन अमेरिकी देश ब्राजिलमा एकैदिन २६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य सङ्गठनले सजग गराएको हो ।
जोन्स हप्किन्स विश्वविद्यालयको अनुसार विश्वभर झण्डै ६० लाख जाना कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने तीन लाख ५९ हजार जनाको ज्यान गएको छ ।
रुसमा पछिल्लो २४ घण्टामा कोभिड–१९ को कारण दुई सय ३२ जनाको ज्यान गएको छ । रुसमा एकदिन मृत्यु हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । योबाहेक पछिल्लो २४ घण्टामा आठ हजार पाँच सय ७२ जनामा सङ्क्रमण देखिएको छ ।
रुसमा कोभिड–१९ को कारण अहिलेसम्म चार हजार तीन सय ७४ जनाको ज्यान गएको छ । अस्ट्रियाले आफ्ना नागरिकलाई एक सय जनासम्मले पार्टी गर्न पाउने र होटल खोल्न अनुमति दिएको छ ।
अस्ट्रियाले अहिलेसम्म सङ्क्रमण नियन्त्रण राख्न सफल भएको छ, अहिलेसम्म कोभिड–१९ को कारण ६ सय ४५ जनाको ज्यान गएको छ ।
लेबनान सरकारले यदि कोही व्यक्ति विना मास्क भेटिए सुरक्षा बलले कारबाही गर्न सक्ने बताएको छ । यदि कोही व्यक्ति विना मास्क कुनै सार्वजनिक बसमा यात्रा गरेको पाइएमा उसले १६ अमेरिकी डलर जरिबाना तिर्नुपर्ने हुन्छ ।
क्रोएशिया सरकारले १० युरोपेली देशको लागि आफ्नो सीमा खोल्ने निर्णय लिएको छ । पर्यटन क्षेत्रलाई बल दिनको लागि क्रोएशिया सरकारले यस्तो निर्णय लिएको बताइएको छ । अब अस्ट्रिया, जर्मनी, चेक रिपब्लिकसहित १० देशका नागरिक क्रोएशिया जान सक्छन् ।
प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार