प्रदेश १ संसद्ः वन व्यवस्थापनमा जोड


 


विराटनगर, जेठ १९

प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश वनको व्यवस्था गर्नका लागि बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ ।

छलफलमा प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले वनको उचित व्यवस्थापन भएमात्र वनबाट अपेक्षित लाभ लिन सक्ने बताउनुभयो । सदस्य ओमप्रकाश सरावगीले वन क्षेत्रको विकास तथा विस्तारका लागि निजी वनको क्षेत्र विस्तार गर्नुपर्ने कुरामा विधेयक स्पष्ट हुनुपर्ने भन्नुभयो । सदस्य विष्णु तुम्बाहाम्फेले वनको संरक्षणमा टेवा पु¥याउने स्थानीय समुदायलाई प्रोत्साहित गर्न विधेयकले बोल्नुपर्ने बताउनुभयो ।

सदस्य राजकुमार ओझाले ‘हरियो वन नेपालको धन’ अवधारणालाई बलियो बनाउन विधेयकले स्पष्ट दृष्टि दिनुपर्छ भन्नुभयो । सदस्य विमल कार्कीले प्रकृति र मानव जातिलाई सङ्कटबाट जोगाउन विधेयकमाथि गहन छलफलको आवश्यकता औँल्याउँदै खाली जमिनलाई सदुपयोग गर्न विधेयकले मद्दत गर्नुपर्नेमा जोड दिनुभयो । सदस्य सर्वध्व साँवा लिम्बूले वन्यजन्तुलाई संरक्षण गर्ने किसिमले विधेयक ल्याउनुपर्नेमा उल्लेख गर्दै अत्यधिक लाभ दिने जातको बोटबिरुवा रोप्न कुरालाई विधेयक समेट्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

सदस्य सौभाग्यवतिदेवी राईले वन क्षेत्रका आदिवासी जनजातिले मरणहरणमा वन प्रयोग गर्ने गरेको र विधेयकले यस्ता कुरामा बन्देज लगाउँदा द्वन्द्व निम्तिने भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रदेशसभाको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले कोरोनाको प्रभावले रोजगार गुमाएका गरिब विपन्न परिवारका मानिसलाई उचित राहत वितरण गर्नुपर्ने बताउनुभयो । सदस्य वसन्तीदेवी यादवले कोरोना सङ्क्रमणको चुनौतीलाई सरकारले अवसरका रुपमा लिनुपर्ने र विपद्मा परेका जनतालाई राहत वितरण गर्नुपर्ने माग गर्नुभयो । अर्का सदस्य विणदेवी राईले सरकारले कोरोना उपचारमा कुनै पनि लापरवाही नगर्न सुझाव दिनुभयो । सदस्य सञ्जाकुमारी दनुवारले सामान्य वर्षात्मा पनि प्रदेशको सभा हल सञ्चालन गर्न समस्या भइरहको अवस्थामा सरकारले छिट्टै व्यवस्थित हल बनाउनुपर्ने माग गर्नुभयो ।

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्