लकडाउन उल्लंघन गर्ने व्यापारीको घोषणा, मान्य नहुने प्रशासनको चेतावनी



सुर्खेत, जेठ २०
सुर्खेत उद्योग वाणिज्य संघले बुधबारदेखि नियमित रुपमा पसल सञ्चालन गर्ने निर्णय गरेको छ । संघले मङ्गलबार विज्ञप्त जारी गर्दै बुधबारदेखि सम्पूर्ण पसलहरु सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी गराएको हो ।

कोरोना रोकथामका लागि सरकारले लकडाउन लम्ब्याउनेबाहेक अन्य कुनै प्रभावकारी काम नगरेको भन्दै संघले यति लामो लकडाउन थेग्ने नसक्ने बताएको छ ।

अध्यक्ष धनबहादुर रावतले दुई महिनाभन्दा लामो बन्दाबन्दीका कारण व्यापार व्यवसाय धरापमा परेको तर सरकारले प्रस्तुत गरेको बजेटमार्फत कुनै सहुलियत प्याकेजको घोषणा नभएको भन्दै बाध्य भएर पसल सञ्चालन गर्ने निर्णय भएको बताए ।

शनिबारबाहेक हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्पूर्ण पसलहरु खोल्ने संघले जनाएको छ । फलफूल, तरकारी, डेरी, ग्याँस, पसलहरु भने बिहान ५ देखि ९ र साँझ ५ देखि ८ बजेसम्म सञ्चालनमा रहने संघले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भने लकडाउनको उल्लंघन गरी पसल सञ्चालनमा ल्याउने उद्योग वाणिज्य संघको निर्णय मान्य नहुने बताएका छन् ।

मनोमानी रुपमा पसल खोल्न नदिइने भन्दै प्रजीअ न्यौपानेल व्यवसायीसँग छलफल गरिने बताए । ‘उहाँहरुसँग बसेर छलफल पनि गर्छौ,’ प्रजिअ न्यौपानेले भने, ‘प्रशासनको काम सरकारको निर्णय कार्यान्वयन गराउनु हो । उहाँहरुले सरकारको निर्णयको अवज्ञा गर्नुहुन्छ भने प्रशासनले पनि आफ्नो जिम्मेवारी पूरा गर्छ ।’

उद्योग वाणिज्य संघको पसल खोल्ने निर्णयको कर्णाली प्रदेशसभामा विरोध भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य पदमा खड्काले कारोना भाइरसको संक्रमणले महामारीकै रुप लिइरहेको बेला यस्तो निर्णय व्यवहारिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News