आइसोलेसन वार्ड भरिएको भन्दै कोरोनाका विरामी अस्पतालबाट फिर्ता, मन्दिरमा राखियो




धनगढी, जेठ २१
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्ड भरिएको छ । आइसोलेसन वार्ड भरिएपछि अस्पतालले नयाँ संक्रमितलाई भर्ना गर्न अस्वीकार गरेको छ ।

थप संक्रमितलाई राख्ने ठाउँ नभएको भन्दै अस्पतालमा हिजो राति ल्याइएका पाँचजना संक्रमितलाई फिर्ता पठाएको हो । कोरोना संक्रमितका लागि बनाइएको २४ शैयाको आइसोलेसन वार्ड भरिएको हो ।

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषलाई अस्पतालले भर्ना नगरी फिर्ता पठाएको नगरपालिकाका प्रमुख भीमवहादुर देउवाले बताए ।

उनले भने, ‘ पाँच नयाँ संक्रमित मध्ये दुईजनाको स्वास्थ्यमा समस्या देखिएको छ, ज्वरो आउने, खोकी लाग्ने र वान्ता समेत भइरहेको छ । त्यसैले सेती प्रादेशिक अस्पतालमा पठाएका थियौँ । तर कसैलाई पनि भर्ना गरेनन् ।’

सेती प्रादेशिक अस्पतालले भर्ना नगरेपछि संक्रमित बिरामीलाई वडा नम्वर ४ को एउटा मन्दिरको हलमा राखिएको मेयर देउवाले जानकारी दिए । उनले सेतीले भर्ना नगरेपछि समस्या भएको बताए ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले २४ शैयाको आइसोलेशनमा २५ जना संक्रमितलाई राखिएको बताउँदै थप संक्रमितको तत्काल व्यवस्थापन गर्न नसकिएको जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयले भने संक्रमित बिरामीको व्यवस्थापनको जिम्मा सम्बन्धित जिल्लामा गठित कोरोना नियन्त्रण समितिको रहेको जनाएको छ । सुदूरपश्चिममा मंगलबार एकैदिन थप २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News