स्वास्थ्यकर्मी बिना क्वारेन्टाइनमा एक महिलाले जन्माइन् बच्चा


 



डोटी, जेठ २२
डोटीमा एक महिलाले क्वारेन्टाइनभित्रै बच्चा जन्माएकी छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ को देवी माध्यमिक विद्यालय खातिवडाको क्वारेन्टाइनमा रहेकी २१ वर्षीया गीता आउजीले छोरा जन्माएकी हुन् ।

बुधबार राती १ बजेर ४४ मिनेट जाँदा उनले क्वारेन्टाइनभित्रै छोरा जन्माएको वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । उनले सकुशल बच्चालाई जन्म दिएको खातीवडा स्वास्थ्यचौकी प्रमूख राम बहादुर भण्डारीले बताए ।

यद्यपी क्वारेन्टाइनमा राखिएका कारण र रातीको समयमा सुत्केरी हुँदा स्वास्थ्यकर्मीलाई खबर भने गर्न नसकेको भण्डारीले बताए । गीता र नवजात शिशुको आवश्यक स्वास्थ्य हेरचाहका लागि अहिले स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइन स्थलतर्फ गईरहेको जनाईएको छ ।

नगरपालिकाको वडा नं २ खुल्लेककी महिला कामको शिलशिलामा भारतको राजस्थान बस्दै आएकी थिइन् । यही जेठ १२ गते मात्रै नेपालल फर्किएकी उनी क्वारेन्टाइनमा बसेकी थिइन् । भारतबाट आएका ७४ जनाको टोलीसँगै उनका श्रीमान अमर आउजी र पहिलो सन्तान पनि सँगै क्वारेन्टाइनमा नै रहेका छन् ।

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्