विप्लव समूहकी केन्द्रीय सदस्य भुजेल फेरि पक्राउ


 


गोरखा, जेठ २३
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी केन्द्रीय सदस्य उमा भुजेललाई बिहीवार जिप्रका ललितपुरले पक्राउ गरेको छ ।

जिल्ला अदालत गोरखाबाट पाँच हजार रुपैयाँ धरौटी तिरेर रिहा भएलगत्तै जिप्रका ललितपुरको पुर्जीअनुसार नियन्त्रणमा लिएर पठाइएको प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा खेपी गोरखाबाट रिहा हुनेबित्तिकै उनलाई सोही मुद्दामा जिप्रका ललितपुरको पक्राउ पुर्जी थमाइएको थियो । गत पुस १२ गते सुनसरी जिल्लाबाट पक्राउ परेकी उनलाई यसैगरी झापा, धनुषा, कैलाली जिल्ला हुँदै गोरखा ल्याइएको हो ।

उनी राजनीतिक गतिविधिमा प्रतिबन्धित विप्लव समूहको मेची–कोशी ब्यूरो प्रमुख तथा पोलिटव्यूरो सदस्य हुन् । १० वर्षे सशस्त्र विद्रोहका बेला २०५७ सालको चैत १७ गते उनको नेतृत्वमा छ जना महिलाहरुले गोरखा जेल ब्रेक गरेर फरार भएका थिए । पाँच जिल्लाको मुद्दा खेप्दै बुधवार गोरखा आइपुगेकी भुजेललाई जिप्रका ललितपुरले पक्राउ गरेको हाे ।

प्रकाशित मिति: २३ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्