स्वास्थ्यचौकीमा जीवनजल र सिटामोलसमेत अभाव


 



सिराहा, जेठ २५
नरहा गाउँपालिका–५ का ४० वर्षीय जाहिद शेख झाडापखाला लागेपछि नजिकै रहेको स्वास्थ्यचौकी पुगे । स्वास्थ्यचौकीमा उपचार त भयो, तर जीवनजल बाहिरबाट किनेर ल्याउनुपर्‍यो । कल्याणपुर नगरपालिका–५ ड्ररौलका रामएकवाल यादवले वडामै रहेको स्वास्थ्यचौकीमा जीवनजल पाएनन् । जीवनजल सिद्धिएको भन्दै निजी औषधि पसलमा किन्न पठाउने गरिएको छ ।

चर्को गर्मीको वेलामा सिराहासँगै तराई मधेसका जिल्लामा झाडापखाला, जिउ चिलाउनेजस्ता समस्या देखिने गरेको छ । तर, यस्तो वेला अत्यधिक खपत हुने जीवनजलसमेत स्वास्थ्यचौकीमा पाइँदैन । नरहा स्वास्थ्यचौकीमा जीवनजलसँगै मेट्रोन, घाउ सफा गर्न चाहिने बेटाडिन, कटन, दमको रोगीलाई दिइने सालबुटामोल ट्याब्लेट, एन्टासिड ९ग्यासको औषधि०, एमोक्सिलिनजस्ता एन्टिबायोटिक सिद्धिएको छ । तीन महिना भइसक्दा पनि यस्ता औषधि किनिएको छैन । 

सरकारले स्वास्थ्यचौकीमा ३५ प्रकारका निःशुल्क औषधिको व्यवस्था गरेको छ । तर, सिराहा जिल्लाका स्वास्थ्यचौकीमा अधिकांश औषधिको अभाव छ । नरहा स्वास्थ्यचौकीका इन्चार्ज अरुणकुमार यादवले औषधि सिद्धिएको पटक पटक जानकारी गराए पनि गाउँपालिकाले उपलब्ध नगराएको गुनासो गरे । सिराहाको कल्याणपुर नगरपालिकामा ११ वटा स्वास्थ्यचौकीमा औषधि अभाव छ । स्वास्थ्य चौकी कल्याणपुरका इन्चार्ज ओमशंकर साहले आँखा र कानमा दिइने सिप्रो ड्रप सिद्धिएको जानकारी दिए । गर्मीमा अत्यावश्यक स्कविज लोसन ९चिलाउँदा लगाउने औषधि०को पनि अभाव रहेको भन्दै साहले दैनिक ३०र४० जना बिरामी स्वास्थ्य केन्द्रमा आउने गरेको बताए । 

कल्याणपुर नगरपालिकाका स्वास्थ्य संयोजक गौरीशंकर देवले नगरपालिकाले समयमै औषधि खरिद गर्न नसक्दा अभाव भएको स्वीकार गरे । निःशुल्क वितरण हुने औषधि खरिद गर्न २० लाख रुपैयाँ बजेट भए पनि खरिद हुन नसकेको उनको भनाइ छ । 

नरहा गाउँपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद यादवले वेलैमा खरिद गर्न नसक्दा अहिले स्वास्थ्यचौकीमा चरम अभाव देखिएको बताए । गाउँपालिकाले औषधि खरिद गर्न १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

हुलाकी सडकमा पर्ने नवराजपुर गाउँपालिकाका स्वास्थ्यचौकीमा एसिलक, कालामाइन लोसन, बी कम्प्लेक्सलगायतका औषधि सकिएको छ । नवराजपुर गाउँपालिकाका स्वास्थ्य संयोजक द्वारिकलाल कामतीले १० लाख बजेट भए पनि गाउँपालिकाले औषधि खरिद गर्न नसकेको बताए । जिल्लाका १७ स्थानीय तहमध्ये कर्जन्हा नगरपालिकाले १६ जेठमा औषधि खरिद गर्न बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ । नगरपालिकामा निःशुल्क औषधिको निम्ति २० लाख बजेट विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षमा सिराहाका १७ स्थानीय तहले निःशुल्क रूपमा वितरण हुने औषधि खरिद गर्न बजेट विनियोजन गरेका छन् । तर, दैनिक खपत हुने सिटामोलदेखि जीवनजलजस्ता सामान्य औषधि पनि खरिद नगर्दा त्यसको मारमा गरिब विपन्न वर्गका नागरिक परेका छन् । 

नरहा गाउँपालिका अध्यक्ष रामशरण यादवले चाँडै औषधि खरिद गर्ने जानकारी दिए । ‘अब प्रक्रिया मिलाएर खरिद हुन्छ । गत वर्ष औषधि खरिद हुँदा समस्या देखियो । अदालतमा मुुद्दा पर्‍यो । त्यसैले यस वर्ष ढिला भएको छ,’ उनले भने ।

नागरिकलाई निःशुल्क औषधि वितरण गर्न कल्याणपुर नगरपालिका २० लाख, औरही गाउँपालिका १० लाख, बरियारपट्टी गाउँपालिका २० लाख, नवराजपुर गाउँपालिका १० लाख, नरहा गाउँपालिका १० लाख, अर्नामा गाउँपालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएका छन् । आर्थिक वर्ष सकिन लाग्दा पनि औषधि खरिद हुन सकेको छैन । नयाँ पत्रिका

प्रकाशित मिति: २५ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्