कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो


 



काठमाडौं, जेठ २५
विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ।

आइतबार बिहान ६ बजेसम्म कोरोना संक्रमणबाट चार लाख एक हजार ६ सय सात जनाले ज्यान गुमाएका छन्। संक्रमितको संख्या ६९ लाख ६६ हजार चार सय ९० पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा एक लाख १२ हजार भन्दा धेरैको मृत्यु भएको छ। गएको २४ घण्टामा ब्राजिलमा सबैभन्दा धेरै नौ सय १० जनाले ज्यान गुमाएका छन् भने अमेरिकामा सात सय ६ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी गएको २४ घण्टामा विश्वभर गरेर एक लाख २६ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यसबीचमा सबैभन्दा धेरै ब्राजिलमा साढे २७ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने अमेरिकामा साढे २२ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

भारतमा शनिबार १० हजार भन्दा धेरैमा संक्रमण देखिएको छ। भारतमा शनिबार मात्रै १० हजार चार सय ३८ जनामा संक्रमण देखिएको हो।

अहिलेसम्म त्यहाँ संक्रमणबाट ६ हजार नौ सय ४६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या अढाई लाख नजिक पुगेको छ। शनिबार भारतमा संक्रमणको कारण दुई सय ९७ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: २५ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्