सुदूरपश्चिमका ९३ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका



कञ्चनपुर, जेठ ३२

सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण देखिएकामध्ये झण्डै ९२.८५ प्रतिशत नागरिक भारतबाट फर्किएका रहेका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिममा २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये दुईजनाको मृत्यु र २६ जना निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका तथ्याङ्क सहायक धर्मानन्द गिरीका अनुसार सङ्क्रमितमध्ये २३४ जना भारतबाट फर्किएकाहरुमा देखिएको छ ।

त्यसैगरी सुदूरपश्चिममा भारतबाट बाहेक एकजना दुबईबाट फर्किएका धनगढीका युवकमा यहाँ पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो । उनी अहिले उपचारपछि निको भइसकेका छन् । “अहिले तीन सुरक्षाकर्मी, चार स्वास्थ्यकर्मी र दुईजना सवारी चालकमा समेत सङ्क्रमण देखिएको छ” निर्देशनालयका तथ्याङ्क सहायक गिरीले भन्नुभयो, “सङ्क्रमितमध्ये ९२।८५ प्रतिशत भारतबाट फर्किएकाहरुमा देखिन्छ ।”

त्यसैगरी सुदूरपश्चिम घर भई अन्यत्र जिल्लामा रहेकाहरुमा समेत कोरोना सङ्क्रमण देखिएर यहाँ उपचार भइरहेको छ । “डडेल्धुराका एक कर्मचारी, एक कैलालीका वडाध्यक्ष, बाँके, काठमाडौँ, वीरगञ्ज र इटहरीबाट आएका एक÷एकजनामा समेत सङ्क्रमण देखिएको छ” उहाँले भन्नुभयो, “सङ्क्रमितहरुको उपचार भइरहेको छ ।”

भारतबाट आएर कोरोना सङ्क्रमण पुष्टि हुनेमा अधिकांश यहाँका क्वारेन्टिनमै बसेको अवस्थामा देखिएको छ । यहाँका ८८ वटा स्थानीय तहमा सञ्चालनमा रहेको क्वारेन्टिनमा नौ हजार ९४७ महिला र ४९ हजार ४८५ पुरुष गरी ५९ हजार ४३२ जना रहेका छन् । शनिबारसम्म सुदूरपश्चिम प्रदेशको कैलालीमा ८३, कञ्चनपुरमा ५४, डडेल्धुरा ३९, बाजुरा २०, अछाम १५, बझाङमा १४, दार्चुलामा १२, डोटीमा नौ र बैतडीमा ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

त्यसैगरी तोकिएको समयसम्म क्वारेन्टिन बसेर सुदूरपश्चिमबाट २२ हजार ७८ जना घर फर्किएका छन् । गत चैत महिनामा सुदूरपश्चिमका नाकाहरुबाट भारतबाट एक लाख ४३ हजार नागरिक स्वदेश फर्किएका थिए भने जेठ महिनामा एक लाख १० हजारभन्दा बढी नागरिक भारतबाट फर्किएको स्थानीय प्रशासनको भनाइ छ ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट जेठमा २८ हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका मध्ये अधिकांश सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक रहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । “भारतबाट आउनेहरुको सीमामा लगत सङ्कलन गर्नाका साथै सम्बन्धित पालिकाको क्वारेन्टिनमा पु¥याउने विषयमा हामीले समन्वय गरिरहेका छौँ” कञ्चनपुरका सहायक प्रजिअ गोकर्णप्रसाद उपाध्यायले भन्नुभयो, “भारतबाट आउनेको सङ्ख्या घटिरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News