टुंगिएला एमसीसी विवाद ?



काठमाडौं, असार ९

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बुधबार बस्दैछ । तर, बैठकको अघिल्लो दिन अबेरसम्म पनि एजेण्डा प्रष्ट भने हुन सकेको छैन ।

बैठकको एजेण्डाबारे छलफल गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मंगलबार बालुवाटारमा झन्डै चार घण्टा छलफल गरेका छन् । तर, दुई अध्यक्षबीचको छलफलपछि बैठकका एजेण्ड के–के तय भन्नेबारे औपचारिक जानकारी कसैलाई भएको छैन ।

विगतमा दुईपटक तय भइसकेको स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित भएकाले अहिले पनि त्यस्तै हुन्छ कि भन्ने आंशका स्थायी कमिटीका सदस्यहरुमा छ।

यसअघि वैशाख २५ मा तय भएको बैठकमा दुवै पक्षले बैठकमा उठाउने विषयबस्तुको तयारीमा जुटेका थिए । तर, त्यतिबेला बैठक स्थगित भयो । त्यसपछि वैशाख ३१ मा अर्को मिति तय भएको थियो । त्यो मितिमा पनि बैठक बस्न सकेन । हरेक तीन महिनामा स्थायी कमिटी बैठक बस्ने पार्टी विधानमा प्रावधान रहे पनि पुसयता बैठक बस्न सकेको छैन ।

बुधबारको बैठकमा सरकारको कामको समीक्षा र अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मुख्य एजेन्डा बनाउने तयारी छ । नेकपामा एमसीसी र सरकारका कामलाई लिएर पार्टी नेतृत्वतहमा एक मत छैन । त्यसैले बैठकमा एक अर्को समूहमाथि दवाव बनाउने दुवैपक्षका नेताहरुको रणनीति छ ।

प्रधानमन्त्री यथास्थितिमा तत्काल एमसीसी अनुमोदनको पक्षमा र अन्य नेता परिमार्जनसहित अनुमोदनको पक्षमा उभिएपछि नेकपाभित्र धुव्रीकरण र दवावको राजनीति पनि सुरु भएको हो ।

यो धुव्रीकरणको संकेत चार दिन अगाडि उपाध्यक्ष वामदेव गौतमले दिइसकेका छन् । उनले असार ४ मा एमसीसीलाई लिएर पार्टीभित्रको अन्तरकहल र धुव्रीकरण सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News