एससीसीः कार्यान्वयनमा जाने समय आयो, पारित हुने–नहुने अन्योल कायमै



काठमाडौं, असार ९

अमेरिकासँग भएको आर्थिक सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी कार्यान्वयनमा जाने मितिसम्म संसदबाट अनुमोदन नहुने निश्चित भएको छ।

सम्झौताअनुसार असार १६ गतेदेखि एमसीसी कार्यान्वयनमा जानुपर्ने थियो। तर, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार अर्को बैठकको मिति असार १७ गते तोकेसँगै कार्यतालिकाअनुसार एमसीसीको कार्यान्वयन नहुने निश्चित भएको हो।

सम्झौताअनुसार गत असोज १३ सेप्टेम्बर ३० सम्ममा एमसीसी संसदबाट अनुमोदन हुनुपर्ने थियो। तर, सत्तारुढ दलभित्र एमसीसीको विषयमा बढेको विवादको कारण अनुमोदन हुन सकेको छैन।

एमसीसी अन्तर्गतको परियोजना सञ्चालन गर्न स्थापना गरिएको कार्यालय मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले परियोजना कार्यान्वयनका लागि नेपाल सरकार र एमसीसीले नयाँ कार्यतालिका बनाउनु पर्ने बताए।

‘यो हाम्रो कार्यालय अन्तर्गत पर्ने विषय होइन। यस विषयमा नेपाल सरकारको प्रतिनिधि अर्थ मन्त्रालय र एमसीसीले वार्ता गरेर नयाँ कार्यतालिका बनाउनु पर्ने हुन्छ,’ विष्टले भने, ‘दुवै पक्षबीच भएको सहमतिको आधारमा नयाँ मिति तोक्न सकिन्छ। मुख्य विषय भनेको सम्झौता संसदबाट अनुमोदन हो।’

विष्टले सम्झौता संसदले अस्वीकार नगरुन्जेलसम्म एमसीए नेपालले आफ्नो काम जारी राख्ने बताए।

सेप्टेम्बर ३० सम्म अनुमोदन नभएका कारण त्यसयता अमेरिकाले दिने रकम रोकिएको छ। त्यसपछि नेपाल सरकारले नै रकमान्तर गरेर एमसीए नेपालको कार्यालय सञ्चालनदेखि प्रशासनिक खर्च बेहोर्दै आएको छ।

नेपालस्थित कार्यालयका कर्मचारी र परामर्शदाताका लागि प्रत्येक महिना तीन करोड रुपैयाँ खर्च हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News