भारी वर्षाको सम्भावना, यीं चार प्रदेशमा बढी जोखिम


 



काठमाडौं, असार २३
आज देश्भरको मौसम बदली छ । मनसुन सक्रिय भएसंगै देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी गराएका छन् ।

आज प्रदेश–१, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिएका छन् । उनका अनुसार अहिले मध्य तथा सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।

दिउँसो यी ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । राति पनि देशका लगभग सबै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उनले बताएका छन् ।

ठूलो पानी पर्ने ठाउँमा बाढी र डुबानसँगै पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ । नदी, खोला र खहरेमा बाढी बढेकाले त्यसबाट हुने जनधनको क्षति कम गर्न र सतर्क रहन सरकारले अपिल गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यही असार २५ गतेदेखि देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । त्यसैगरी असार २७ देखि २९ गतेसम्म विभिन्न नदीमा उच्च बहावको सम्भावना छ ।

नारायणी, कन्काई, कोसी, कमला, बाग्मती, तिनाउ, पश्चिम राप्ती, बबई तथा यिनका सहायक नदीमा बहावले सतर्कता तह पार गर्ने सम्भावना औंल्याइएको छ ।

प्रदेश–१ र २ तथा चुरे एवम् तराईका सबै नदीको बहावले सतर्कता तह पार गरी केही नदीमा खतराको तह आसपास पुग्ने सम्भावना रहेकाले सम्भावित उच्च जोखिम सामना गर्न पूर्व तयारीलाई प्राथमिकता दिन विभागले अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबार बाग्मती, तिनाउ, पश्चिम राप्ती बबई र केही साना नदीमा बहाव बढ्ने क्रममा छ । तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, उदयपुर, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, काठमाडौँ, मकवानपुर, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बाग्लुङ, पर्वत र म्याग्दीका नदीको बहाव बढ्ने क्रममा छ ।

यस्तै चितवन, नवलपरासी, रुपन्देही, कपिलस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम, प्युठान, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, अछाम, डोटी, बझाङ, बाजुरा, डडेल्धुरा र आसपासका जिल्लाका नदीमा बहाव बढ्ने खतरा रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २३ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्