प्रचण्डले गरे प्रधानमन्त्रीसँगको छलफल स्थगित, यस्तो छ कारण




काठमाडौं, असार २७
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसंगको छलफल स्थगित गरेर चितवन पुगेका छन् । प्रचण्ड प्रधानमन्त्रीसंगको छलफल स्थगित गरेर बाढीले गरेको असरको निरीक्षण गर्न चितवन पुगेका हुन् ।

यस क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसदसमेत रहेका दाहालले पार्टीभित्रको विवाद मिलाउन प्रधानमन्त्री केपी ओलीसँगको आजको संवादलाई स्थगित गरेर आफू निरीक्षणमा आएको बताए । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्रीसँग परामर्श गरेर आफू निरीक्षणमा आएको अध्यक्ष दाहालले जानकारी दिए ।

निरीक्षणका क्रममा उनले नदीनारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताएका छन् । भरतपुर महानगरपालिका वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको आज निरीक्षण गर्दै उनले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताए ।

उनले आफू निर्वाचित भएदेखि नै राप्ती र नारायणीमा तटबन्धसहितको चक्रपथ अघि बढाएको बताए । विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन कार्य भइसकेको र बजेटका लागि अर्थ मन्त्रालयमा कुरा भईरहेको दाहालले जानकारी दिए। उनले सरकार सकारात्मक रहेकाले सो काम सम्पन्न हुने विश्वास दिलाए ।

पानीपरेपछि शुक्रबारबाट सो क्षेत्रमा नारायणीले कटान गर्न शुरु गरेको हो । दाहाललाई यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्ण भुर्तेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदी कटानका बारेमा जानकारी गराएका थिए । दाहालले आजै माडी नगरपालिकाको बाढी प्रभावित विभिन्न क्षेत्रको पनि निरीक्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News