सुदूरपश्चिममा फैलिदै सलह, किसान चिन्तित


 



धनगढी, साउन ३ । बाली नाशक सलह किरा देशका विभिन्न जिल्ला हुँदै सुदूरपश्चिममा पनि पुगेपछि यहाँका किसान चिन्तित बनेका छन् । छिमेकी प्रदेश कणाली प्रदेशका अधिकांश जिल्लामा सहल किराले सताइरहेका बेला सुदूरपश्चिममा पनि देखिएपछि यहाँका किसानहरु चिन्तित बनेका हुन् ।

शुक्रबारसम्म कर्णाली प्रदेशका मुगुबाहेक सबै जिल्लामा सलह किरा पुगिसकेको त्यहाँको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशसंग जोडिएका कर्णाली प्रदेशका जिल्लामा पनि सलहको झुण्ड पुगिसकेको छ ।

विहीबारदेखि भारत हुँदै सुदूरपश्चिममा पनि सलहको झुण्ड प्रवेश गरेको छ । कञ्चपुरको पुनर्वासबाट सलह किराको झुण्ड पसेर बाली खान थालिसकेको छ । किसानहरुलाई किराबाट आफ्नो बाली जोगाउन धौ–धौ भएको छ ।

बिहीबार साँझ पुनर्वास नगरपालिका १० मा देखिएको सलहको झुण्ड शुक्रबारसम्म कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका हुँदै बेदकोट नगरपालिका प्रवेश गरिसकेको छ । दक्षिणी क्षेत्रबाट प्रवेश गरेको झुण्ड महेन्द्रनगर सदरमुकामसम्म पुगिसकेको छ ।

जिल्लामा सहल देखिएपछि किसानहरु खेतबारीमा जाग्राम बस्न थालेको कञ्चनपुरको पुनरबासका किसान हरिराम चौधरीले बताए । उनले सलह किराले कतिबेला आएर बाली सखाप पारिदिने हो भन्ने चिन्ता रहेको बताए ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले पुनर्वासमा देखिएको सलहको झुण्ड बेदकोट नगरपालिकाका पुगेको बताए । उनले सलह किरा नियन्त्रण गर्न कृषि प्राविधिकहरुलाई खटाइएको बताए । उनकाअनुसार कृषि ज्ञान केन्द्रका प्राविधिकले केही ठाउँमा किसानहरुसंगै मिलेर विषादी छर्ने काम गरिरहेका छन् ।

कञ्चनपुरमा सलह किरा भारतको गौरीफण्टा क्षेत्रबाट नेपाल प्रवेश गरेको हो । ‘केही स्थानमा रुखका पात खाएको छ, अन्नबालीमा क्षति गरेको छैन, ‘उनले भने, ‘किसानले सलह आकाशमै छँदा थाल ठटाएर र धूँवा निकालेर धपाउन सफल भएका छन् ।’

कञ्चनपुरसंगै शुक्रबारनै पहाडी जिल्ला डडेल्धुरामा पनि सलहको झुण्ड देखिएको सुदूरपश्चिम प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । जिल्लाको भित्री मधेसमा सलह कीरा देखिएको हो । जिल्लामा यसअघि पनि सानो संख्यामा सलह किरा देखिएको थियो ।

यहाँ पनि कृषि ज्ञान केन्द्रले ठूलो आजाव निकालेर र थाल ठटाएर सलह किरा भगाउन किसानहरुलाई सुझाव दिइएको नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक कालुसिंह बोहराले जानकारी दिए । उनले अहिलेसम्म सलह किराले बालीमा खासै नोक्सान नगरेको बताए । तरपनि किसानलाई सलह किरा भगाउन सुझाव दिएको उनले बताए ।

प्रकाशित मिति: ३ श्रावण २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्