कैलालीका विभिन्न चार स्थानमा बम फेला, सेनाले गर्यो डिस्पोज
धनगढी, साउन ६
कैलालीका विभिन्न चार स्थानमा आज विहानै बम फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा जाने बाटो, सामाजिक विकास मन्त्रालय जाने बाटो, धनगढी बजारको एलएन चोक र लम्की चुहा नगरपालिका कार्यालय अगाडि बम जस्तै शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।
कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले विभिन्न चार स्थानमा भेटिएको बस्तु नेपाली सेनाले डिस्पोज गरिसकेको बताए । उनले यसबारेमा अनुसन्धान भइरहेको बताए ।
आजै नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाले पनि सुदूरपश्चिम बन्दको आह्वान गरेकाले उसले नै विभिन्न स्थानमा शंकास्पद बस्तु राखेको हुनसक्ने प्रहरीको आशंका छ ।
प्रकाशित मिति: ६ श्रावण २०७७, मंगलबार