झापामा कन्काईको बाढीले तटबन्ध भत्काइयाे



बिर्तामोड, साउन ६
लगातारको वर्षापछि कन्काई नदीमा आएको बाढीले झापा गाउँपालिकास्थित जनताको तटबन्ध भत्काएको छ । तटबन्ध भत्काएर गाउँ पसेको बाढीले गाउँपालिकाको दुई वटा बस्ती डुबानमा पारेको छ ।

गाउँपालिकाको वडा नम्बर १ स्थित मिलनबस्तीका ८३ घर र २ नम्बर वडास्थित सडकबारीका २२ घर डुबानमा परेका हुन् । सोमबार दिउँसोदेखि डुबानमा परेका १०५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । मिलनबस्तीका ८३ परिवारलाई स्थानीय सितुमारी प्राथिमा तथा सडकबारीका २२ परिवारलाई स्थानीय लक्ष्मी प्राविमा राखिएको थियो ।

बस्तीमा पानीको मात्रा केही घटेकाले मिलनबस्तीका ६० परिवार भने मंगलबार बिहान घर फर्किएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए । मिलनबस्तीका २१ परिवार भने घर फर्किन सक्ने अवस्था नरहेको उनले बताए ।

बाढीले कन्काई नदी किनारको ३ सय मिटर बाँध भत्काएको हो । नदीमा आएको बाढीले चार दिनदेखि लगातार कटान गरेको थियो । बाँध भत्काएर बस्तीतर्फ सोझिएको बाढीले करिब एक हजार बिघा धान खेतसमेत डुबाएको छ ।

‘बाढीले कटान सुरु गरेपछि हामीले तत्काल रोक्ने प्रयास गर्‍यौं । तर, त्यो सम्भव भएन,’ वडा नम्बर २ का अध्यक्ष नेत्रबहादुर खड्काले भने । त्यस्तै सडकबारीका ५५ घर डुबानको उच्च जोखिममा छन् । भत्किएको बाँध तत्काल निर्माण गर्न नसके मिलनबस्ती, सडकबारी, सालमारा, लसुनगञ्जलगायतका बस्तीका सयौं घरपरिवार डुबानमा पर्ने अध्यक्ष साहले बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News