वडा कार्यालयमा आगजनी

कञ्चनपुर, साउन ८
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ को कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ ।
झ्यालका सिसाहरु फुटाएर पेट्रोलियम पदार्थ छर्किइ वडा कार्यालयमा आगजनी गरेको पाइएको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए । उनकाअनुसार आगजनीबाट वडा कार्यालयका कम्प्युटर, सोफा, कार्पेट, कुर्सी, टेबुल र कागज पत्र जलेर नष्ट भएको छ ।
वडा कार्यालयमा कसले किन आगजनी गर्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । क्षतिको विवरण संकलन गरी घटनाको अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए ।
प्रकाशित मिति: ८ श्रावण २०७७, बिहिबार