कैलालीमा वन अतिक्रमण उच्च, तर पर्दैनन् उजुरी




अंकुश कुँवर
धनगढी, साउन १०
वन अतिक्रमणविरुद्ध उजुरी नै नपर्ने गरेको पाइएको छ । वन क्षेत्र धेरै रहेको कैलालीमा अतिक्रमण पनि उच्च रहेपनि त्यसविरुद्ध उजुरी भने पर्ने नगरेको पाइएको हो । यद्यपि कैलालीमा पछिल्लो अवस्थामा कति वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ भन्ने तथ्यांक वन कार्यालयसंग छैन ।

झण्डै एक दशक अघिकै तथ्यांकअनुसार कैलालीमा २२ हजार हेक्टर भन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । एक दशक यता जिल्लाका थुप्रै स्थानमा वन अतिक्रमण थप भएको छ । तर, यसको तथ्यांक निकालिएको छैन ।

डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कडेलले डिभिजन वन कार्यालय धनगढीले आफ्नो क्षेत्र भित्रको वन अतिक्रमणको तथ्यांक संकलन गरेर सार्वजनिक गर्ने तयारी गरेको बताए । उनकाअनुसार अहिले तथ्यांक संकलन गर्ने काम भइरहेको छ । अहिले कैलालीमा धनगढी र पहलमानपुर गरि दुईवटा डिभिजन कार्यालय छन् ।

यी दुई कार्यालयले आ–आफ्नो क्षेत्रको अतिक्रमित क्षेत्रको तथ्यांक निकाल्नुपर्छ । अहिले वन अतिक्रमण बढ्दै गइरहेको भएपनि यति नै क्षेत्र अतिक्रमणमा परेको छ भनेर अनुमान गर्न नसकिने डिभिजन वन कार्यालय धनगढीका प्रमुख कडेलले बताए ।

जिल्लामा संस्थागत र व्यक्तिगत रुपमा वन अतिक्रम बढ्दै गइरहेको भएपनि उजुरी भने शून्य जस्तै छ । जिल्ला वन वा अन्य निकायमा वन अतिक्रमणबारे उजुरी नै पर्ने गरेको छैन । डिभिजन वन कार्यालय धनगढीकाअनुसार तीन वर्षमा कैलालीमा एउटा मात्रै वन अतिक्रमण गरेकोबारे उजुरी परेको छ ।

आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा जिल्लामा कुनै पनि वन अतिक्रमण गरिएको बारे उजुरी नै दर्ता भएको छैन । गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै वन अतिक्रमण गरिएको बारे डिभिजन वन कार्यालयमा परेको छ ।

गत आर्थिक वर्ष गोदावरी नगरपालिका अन्तर्गत पहाड रोड क्षेत्रमा वन अतिक्रमण गरेर संरचना निर्माण गरिएकोबारे पाँच जनाविरुद्ध उजुरी दर्ता भएको छ । त्यसबाहेक जिल्लामा अहिलेसम्म वन अतिक्रमणबारे उजुरीनै परेको छैन । वन पैदावर चोरी सिकारी, ओसार पसार सम्बन्धी उजुरीहरु पर्ने गरेपनि वन क्षेत्र अतिक्रमण गरेको भन्नेबारे उजुरी नै पर्ने नगरेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख कडेलले बताए ।

उनले कसैको मौखिक आधारमा वा अनुगमनका आधारमा मात्रै वन अतिक्रमण हटाउने गरेको बताए । ‘लिखित रुपमै वन अतिक्रमणबारे उजुरी आउँदैनन्,’ उनले भने, ‘कहिलेकाँही मौखिक रुपमा भने उजुरीहरु आउने गर्छन्, हामी आफै पनि अनगमनमा गएर अतिक्रमण हटाउने गरेका छौं ।’

उजुरी नै नपर्ने गरेका बेला जनशक्ति नै अभावमा डिभिजन सबै ठाउँको वन क्षेत्र अनुगमन गर्न सकेको अवस्था नरहेको वनका कर्मचारी बताउँछन् । जिल्लामा व्यक्तिगत र संस्थागत रुपमै वन अतिक्रमण भइरहेको हुँदा वन अतिक्रमण सम्बन्धी उजुरी कम पर्ने गरेको डिभिजन प्रमुख कडेलले बताए ।

समुदायका मानिसनै वन अतिक्रमतिर लाग्न थालेपछि उजरी दिने मानिस पनि नहुने उनको भनाई छ । उनकाअनुसार संस्थागत रुपमा भइरहेको अतिक्रमण हटाउने निकै चुनौती रहेको छ । ‘संस्थागत रुपमा भइरहेको अतिक्रमणलाई हटाउने हामी एक्लैले सक्दैनौं,’ उनले भने, ‘जान्ने सुन्नै व्यक्तिहरु संस्थागत रुपमा वन अतिक्रमणमा लाग्दा अप्ठेरो भइरहेको छ ।’

व्यक्तिगत रुपमा भइरहेको अतिक्रमणलाई हटाउने भने कुनै गाह्रो नभएको उनको भनाई छ । तर, कुनै व्यक्ति वा शक्ति समूहको निर्देशन वा नेतृत्वमा जिल्लाका थुप्रै ठाउँमा वन क्षेत्र अतिक्रमणमा परेको छ । त्यस्ता क्षेत्रहरुमा वन कर्मचारीहरुले चाहेर पनि नसकेको प्रमाणहरु छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News