उपत्यकामा फेरि जोर विजोर लागू गर्न स्वास्थ्य मन्त्रालयकाे प्रस्ताव



काठमाडौं, साउन १९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेसँगै निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर लागू गर्न प्रस्ताव गरेको छ ।

लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढेको छ भने उपत्यकामा पनि जोखिम थपिएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार उपत्यकामा संक्रमण फैलिन नदिने हो भने सवारी साधनमा जोरविजोर, बाहिरबाट आउनेहरुलाई १४ दिन अनिवार्य होम वा स्थानीय क्वारेन्टिन जस्ता उपाय अपनाउनुको विकल्प छैन ।

मन्त्रालयको प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिमा विचाराधीन छ । सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो । साथै भदौ १ बाट लामो दुरीको सवारी पनि चलाउने तयारी छ ।

अहिले पनि कोरोना संक्रमण फैलिएको क्षेत्रबाट मानिसहरु काठमाडौं आउने क्रम रोकिएको छैन । यसरी आउनेहरुलाई रोक्न नसके पनि १४ दिन अनिवार्य होम क्वारेन्टिन वा स्थानीय तहको क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरे मात्र उपत्यकालाई संक्रमणबाट जोगाउन सकिने मन्त्रालयका अधिकारी बताउँछन् । त्यसअनुसार मन्त्रालय १४ दिन होम वा स्थानीय क्वारेन्टिनको सहमतिपछि मात्र उपत्यका प्रवेश गर्न दिने प्रस्ताव पठाएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News