काठमाडौं उपत्यकामा काेराेना संक्रमण तीव्र


 


काठमाडौं, साउन २८
लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको हो।

काठमाडौंमा पाँच सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘संक्रमितको संख्या दैनिक वृद्धि भइरहेको छ। यस अवस्थामा बढ्दा बेड अभावको स्थिति पनि छ’, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने। उनका अनुसार काठमाडौंसहित पर्सा, रौतहट, महोत्तरीमा पाँच सयभन्दा बढी संक्रमित छन्।

साउन ६ गते लकडाउन अन्त्य गरिँदा संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ थियो। अहिले बढेर २३ हजार ९ सय ४८ पुगेको छ। जोखिम कायमै रहेका बेला लकडाउन अन्त्यको निर्णयपछि संघीय राजधानी आउने संख्या बढेको थियो। असार २७ गतेदेखि साउन १२ गतेसम्म दैनिक औसत पाँच जना नयाँ संक्रमित पुष्टि भएका थिए।

लकडाउन अन्त्यसँगै उपत्यकामा संक्रमितको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। फलफूल एवं तरकारी व्यवसायी, नाई, होटल व्यवसायी, ब्युटिपार्लर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतमा संक्रमण देखिएको छ। जनप्रतिनिधि पनि संक्रमित पाइएका छन्।

उपत्यकामा साउन १३ गते ५३ जनामा कोरोना पोजिटिभ देखिएको थियो। साउन १५ गते ४८, १८ गते ३१, १९ गते ५१ जना नयाँ संक्रमित पुष्टि भएका थिए। साउन २० मा ६२ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै संक्रमित छन्। साउन २१ गते काठमाडौंमा ५७ जना नयाँ संक्रमित फेला परेका थिए। ललितपुरका ५ जनामा संक्रमण देखिएको थियो। संक्रमणदर बढेपछि साउन २२ गते मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी कार्यालयमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट बन्द गर्न अपिल गरेको थियो। नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंमा संक्रमण दर बढेको जनाएका थिए।

त्यस दिन काठमाडौंका तीनै जिल्लामा गरी ८७ जना संक्रमित भेटिएका थिए। जसमध्ये काठमाडौंका ७६, ललितपुरका १० र भक्तपुरका १ जना थिए। अघिल्लो दिन स्वाब परीक्षणमा दिएका १६ जना मोबाइल स्विच अफ गरी सम्पर्कविहीन भएको महाशाखाका एक अधिकारीले बताए। ‘स्वाब संकलनपछि रिपोर्ट नआउञ्जेल क्वारेन्टाइनमा बस्नु पर्नेमा घुमफिर गरेको पाइयो’, उनले भने।

वीर अस्पतालको आपत्कालीन कक्षमा कार्यरत चिकित्सकलाई पनि साउन २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यही दिन उपत्यकामा १ सय ६ जनामा कोरोना देखिएको थियो। त्यसमा काठमाडौंका ९२, ललितपुरका १० र भक्तपुरका ४ जना थिए। साउन २४ गते ६२ जना संक्रमित थपिए। तीमध्ये काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जना थिए। त्यस्तै, साउन २५ गते ९२ जनामा कोरोना पुष्टि भयो, जसमा काठमाडौंका ९०, ललितपुरका २ जना थिए। त्यस्तै साउन २६ गते ४४ जना संक्रमित थपिए, जसमा काठमाडौंका मात्रै ३६ जना थिए। ललितपुर र भक्तपुरमा ४÷४ जना नयाँ संक्रमित थपिए।

‘औषधि, अक्सिजन, भेन्टिलेटरले सहयोग मात्र गर्ने हो। रोगको उपचार नहुने भएकोले रोग लाग्न नदिनु नै उत्तम उपाय हो’, प्रवक्ता डा. गौतमले भने, ‘संक्रमण बढ्दै गए अस्पतालले धान्न सक्दैनन्। स्वास्थ्यकर्मी पनि अपुग हुन सक्छन्। अकालमा ज्यान जान सक्छ। बेलैमा सावधानी अपनाए हुन्थ्यो।’आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्