प्रदेश १ मा थपिए ११५ संक्रमित


 


विराटनगर, साउन २९

बिहीबार प्रदेश १ मा ११५ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश १ मा बिहीबार थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो। पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८३ पुरूष र ३२ जना महिलामा कोरोना संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगर महानगरपालिकाभित्र मात्र बिहीबार एकैदिन ६० जना नयाँ संक्रमित थपिएका छन्। संक्रमित मध्ये ३८ पुरूष र २२ महिला छन्। यस्तै मोरङको बुढीगंगा गाउँपालिका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। संक्रमित सबै पुरूष छन्।

बुढीगंगा देखिएका संक्रमितमध्ये आरती स्ट्रिप्समा काम गर्ने २१ जना रहेका छन्। त्यस्तै बुढीगंगा २ का ३ जना र ७ का १ जना रहेका छन्। कटहरीमा तीन जनामा संक्रमण देखिएको छ।

सुनसरीमा १५ पुरुष र ४ महिला गरि १९ जनामा संक्रमण देखिएको छ। इटहरीमा १० पुरुष, ३ महिला, धरानमा १, बराहक्षेत्रमा १, दुहबीमा ३ र रामधुनीमा १ जनामा संक्रमण पुष्टि भएको छ। झापाको विर्तामोडमा १ जना, इलाममा ४ जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमतिको संख्या १६२६ पुगेको छ। जसमध्ये १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये २ जना प्रदेश २ का हुन् भने ८ जना मोरङका हुन्।

प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ।

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्