कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो


 


काठमाडौं, साउन २९

नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १—१ जना गरी ४ जनाको मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका ८५ वर्षिया महिलाको साउन २८ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ। यस्तै अछामको रामारोशन गाउँपालिका—५ का १८ वर्षिय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।

उनी मुटुरोगबाट ग्रसित थिए। यस्तै मोरङको विराटनगर महानगरपालिका—३ का ५७ वर्षिय पुरुषको साउन २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए। यसैगरी महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका ६ का ४५ वर्षिय पुरुषको साउन २५ गते मृत्यु भएको उनले बताए। क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रदेश नम्बर १ मा ८, प्रदेश नम्बर २ मा ३९ जना, बागमती प्रदेशमा १८ र गण्डकी प्रदेशमा ६ जनाको मृत्यु भएको छ। यस्तै प्रदेश नम्बर ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ।

बिहीबार नेपालमा ५ सय भन्दा बढी संक्रमित थपिएका छन। बिहीबार ९ हजार ८ सय ५९ भएको पीसीआर परीक्षणमा ५ सय २५ जनामा कोरोना संक्रमण देखिएको हो। उपत्यकामा मात्रै १ सय २७ जनामा संक्रमण देखिएको छ। योसँगै आजसम्म कोरोना भाइरसबाट २४ हजार ९ सय ५७ जना संक्रमित भएका छन्।

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्