सिन्धुपाल्चोकमा भीषण पहिरो, ३८ जना बेपत्ता

काठमाडौं, साउन ३०
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भीषण पहिरो जाँदा ३८ जना बेपत्ता भएका छन् । जुगल–२ लिदिको लामा टोलमा आज विहान ६ बजेतिर खसेको पहिरोमा परेका मध्ये ३८ जना सम्पर्कविहीन बनेका हुन् ।
पहिरोमा परेर ८ जना गम्भीर घाइते रहेको वडाध्यक्ष प्रताप लामाले जानकारी दिए । उनकाअनुसार सुरक्षाकर्मी र स्थानीयले उद्धार कार्य जारीराखेका छन् । पहिरोले ३७ घरमा क्षति पुर्याएको छ ।
जुगल गाउँपालिकाले साउन २२ गते लिदिका १७२ पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको थियो ।
घाइतेहरूको काठमाडौं र सिन्धुपाल्चोकमा उपचार भइरहेको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएको क्षेत्रमा पुगेका छन् ।
प्रकाशित मिति: ३० श्रावण २०७७, शुक्रबार