निषेधाज्ञामा सीडीओलाई अधिकारः एक महिनासम्म थुनामा राख्न सक्ने

काठमाडौं, भदौ ३
काठमाडौंमा आज राति १२ बजेदेखि निषेधाज्ञा जारी हुँदैछ । उपत्यकाभित्र संक्रमण काबुमा नरहेपछि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आज राति १२ बजेबाट निषेधाज्ञा गर्ने निर्णय गरेका हुन् ।
मंगलबारको तथ्यांकअनुसार उपत्यकाभित्र २५ सय भन्दा बढी कोरोना संक्रमित देखा परिसकेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संक्रमण व्यापक भएको बेला मानिसहरुको आवातजावत पनि बाक्लिएपछि निषेधाज्ञा गर्नुपर्ने अवस्था आएका बताए । उनले निषेधाज्ञालाई कडाईका साथ लागूसमेत गरिने बताए ।
सुरुमा गरिएको लकडाउनलाई मानिसहरुले पालना नगर्दा अहिलेको स्थिति आएको भन्दै उनले अब अवज्ञा गर्नेलाई कारबाही गरिने बताए । उनले निषेधाज्ञा पालना नगर्ने व्यक्तिलाई पक्राउ गरेर एक महिनासम्म थुनामा राख्नेसम्मको अधिकार दिइएको बताए ।
‘प्रमुख जिल्ला अधिकारीलाई कारबाहीका लागि अहिले पूर्ण अधिकार दिएको छ,’ उनले भने, ‘निषेधाज्ञा अवज्ञा गरे एक महिना थुनामा पनि राख्ने अधिकार छ ।’ प्रमुख जिल्ला अधिकारी दाहालले निषेधाज्ञाको बेला अत्यावश्यक कामबाहेक अरु बेला बाहिर ननिस्कन आग्रह पनि गरेका छन् ।
संक्रमणको पहिलो उपचार नै सोसल डिस्ट्यान्स र मास्कको प्रयोग भएकाले त्यसमा बढी ध्यान दिनसमेत उनको सुझाव छ ।
प्रकाशित मिति: ३ भाद्र २०७७, बुधबार