प्रेमजालमा फसाएर बलात्कारपछि बेचबिखन




काठमाडौं, भदौ ३
नुवाकोटका राजु तामाङ भन्ने व्यक्तिले १७ वर्षीया किशोरीलाई प्रेम जालमा फसार बलात्कार गरि बेचविखन गरेको खुल्न आएको छ । किशोरीलाई विवाह गर्ने भनी प्रलोभन देखाइ प्रेम जालमा फसाइ बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रहरीले नुवाकोट जिल्ला तादी गाउँपालिका– ३ खरानिटार स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने तामाङलाई पक्राउ गरेको हो। सुरुमा प्रलोभनमा पारेर बालिकालाई काठमाडौँको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबर्जस्ती करणी गरेको खुल्न आएको ब्युरोका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

उनले आफ्नो साथीमार्फत ट्याक्सी चढाइ चितवन हुँदै काँकडभिट्टाबाट सीमा कटाए । उनका सहयोगीले भारतको एक नचिनेको पुरुषलाई बालिका जिम्मा लगाएर फर्किएका थिए । भारतीय व्यक्तिले निज बालिकालाई अश्लिल भिडियो देखाइ मानसिक यातना दिने गरेको र रकम तिरेर किनेको भन्दै डर त्रासमा राखेर चरम यातना दिएको खुलेको छ ।

उनले बेलाबेलामा शारीरिक र मानसिक यातना दिँदै रोजगार लगाइदिने बहानामा भारतका विभिन्‍न ठाँउमा लग्‍ने गरेको पीडित बालिकाले बताएकी छिन् । त्यही सिलसिलामा बालिका पीडकको आँखा छलेर भाग्‍न सफल भई अपरिचित नेपालीको सम्पर्कमा पुगेको र ती नेपालीमार्फत बालिका कैलालीस्थित प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।

एक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरेपश्चात् बालिकालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । एक वर्ष अघि भएको घटनामा अभियुक्त तामाङविरुद्ध साउन २९ मा नै ब्युरोमा कारवाही गरी पाउँ भनी जाहेरी परेको थियो ।

अर्पण भनिने राजु तामाङलाई ब्युरोको टोलीले यही भदौ १ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News