सम्बन्ध सुधार्न भारतको ‘खोप कूटनीति’



काठमाडाैँ, भदाैँ ७
केही महिनायता छिमेकीहरूसँग बिग्रिरहेको सम्बन्ध सुधार्न भारतले कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच खोप कूटनीतिलाई अघि बढाएको छ । एक वर्षयता भारतको नेपाललगायत श्रीलंका, माल्दिभ्स र बंगलादेशका साथै भुटानसँगको सम्बन्ध पनि सुमधुर बन्न सकेको छैन । चीनसँगको सम्बन्ध त इतिहासकै नाजुक अवस्थामा पुगेको छ ।

जुन दोस्रो साता गलवान उपत्यकामा भएको हिंसात्मक झडपमा २० भन्दा बढी भारतीय सैनिकको ज्यान गएपछि दुई छिमेकीको सम्बन्ध निकै तिक्ततापूर्ण छ । पाकिस्तान त उसको स्थायी शत्रुका रूपमा छँदै छ ।
यस्तो पृष्ठभूमिमा भारतले निकट छिमेकीहरूसँगको सम्बन्ध सुधार्न आर्थिक एवं वित्तीय सहयोगसँगै खोप कूटनीतिलाई अघि सारेको हो ।

भारतले हालै मात्र माल्दिभ्स र बंगलादेशलगायत मुलुकलाई कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको प्रभाव कम गर्न ठूलो परिमाणमा आर्थिक र वित्तीय सहयोगको घोषणा गरेको छ । यसका साथै आफूले उत्पादन गर्ने कोभिड–१९ विरुद्धको खोपको आपूर्तिका लागि यी मुलुकका साथै भुटानलाई पहिलो प्राथमिकता राख्ने प्रतिबद्धतासमेत जनाएको छ ।

खोपको अनुसन्धान अन्तिम चरणमा पुगेको र विश्वकै ठूलो उत्पादक भएकाले पनि भारतले निकट छिमेकीहरूसँगको सम्बन्ध सुधार्न खोप कूटनीति अख्तियार गरेको सहजै बुझ्न सकिन्छ । हालै बंगलादेश भ्रमणका गएका भारतीय विदेश सचिव हर्षबर्धन शृगंलाले त भारतले आफूकहाँ उत्पादन हुने खोपको आपूर्तिमा बंगलादेश प्राथमिकतामा रहेको सार्वजनिक रूपमै बताउनुले पनि त्यसको पुष्टि हुन्छ । ‘भारतले विकास गर्ने खोपमा बंगलादेश सधैं नै हाम्रो प्राथमिकतामा पर्छ,’ शृगंलालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले लेखेका छन् ।

भारतले अघि बढाएको खोप कूटनीतिलाई अन्तर्राष्ट्रिय मामलाका जानकारहरू छिमेकीहरूसँगको सम्बन्ध सुधारमा सकारात्मक पहलका रूपमा लिन्छन् । दिल्लीस्थित थिंक ट्यांक ओआरएफकी सिनियर फेलो राजेश्वरी राजगोपालनले कोभिड–१९ को महामारीका बेला भारतको पछिल्लो प्रयास जनस्तरको सम्बन्ध प्रगाढ बनाउने नीतिअन्तर्गत भएको बताउँछिन् । ‘विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै जनस्तरको सम्बन्ध विकास गरेर छिमेकीहरूसँगको दूरी कम गर्न यसले अहम् भूमिका खेल्छ,’ उनले भनिन् ।

हाल भारतका आधा दर्जन कम्पनीले कोभिड–१९ विरुद्धको खोपको अनुसन्धान गरिरहेका छन् । तीमध्ये तीनवटा कम्पनीले त मानव परीक्षण गरिरहेका छन् । भारत सरकारले अगस्ट १५ भित्रै खोप ल्याइसक्ने घोषणा गरेको थियो । तर उक्त अवधिभित्र वैज्ञानिक मापदण्ड पूरा गर्ने विषयमा विज्ञ र वरिष्ठ चिकित्सकहरूले नै प्रश्न उठाएपछि सरकार पछि हटेको थियो । औषधि तथा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सामग्रीमा भारत विश्वकै प्रमुख उत्पादक मुलुकमध्येमा पर्छ । सबैभन्दा धेरै औषधि उत्पादक भारतमा विश्वकै ६० प्रतिशत खोप उत्पादन हुने गरेको छ ।

भारतको खोप कूटनीतिलाई भारतीय उपमहाद्वीपमा पछिल्लो समय बढ्दो चीनको प्रभाव रोक्ने प्रयासका रूपमा पनि हेरिएको छ । चीनले आफ्नो देशमा विकास गरेको खोपको मानव परीक्षणका लागि राखेको प्रस्तावलाई बंगलादेशले अस्वीकार गरिदिएको थियो । त्यसको केही दिनमै भारतीय विदेश सचिवले खोप दिने प्रतिबद्धता जनाउनुलाई पनि निकै अर्थपूर्ण ठानिएको छ ।

राजागोपालन पनि भारतका पछिल्ला कदम केही हदसम्म चीनको प्रभाव रोक्ने नीतिअन्तर्गत चालिएका स्विकार्छन् । तर भारतले विगतमा पनि प्राकृतिक विपद्का बेला छिमेकहरूलाई सहयोग गरेको उनको भनाइ छ । ‘चीनको प्रभाव रोक्न नीति पनि हो । तर भारतले विगतमा पनि आफ्नो गच्छेले भ्याएसम्म प्राकृतिक विपद्का बेला आफ्ना छिमेकी मात्र नभएर अन्य मुलुकलाई पनि मद्दत गरेको तथ्य पनि बिर्सन हुँदैन,’ राजागोपालनले भने ।

नेपालको पनि अनुरोध
कोभिड–१९ विरुद्धको खोप उत्पादन हुनासाथ पहिलो खेपमै उपलब्ध गराउन नेपालले पनि अनुरोध गरेको छ । दिल्लीस्थित दूतावास स्रोतका अनुसार त्यस्तो अनुरोध अनौपचारिक रूपमा गरिएको हो । ‘नेपालका तर्फबाट पनि अनौपचारिक रूपमा अनुरोध भइसकेको छ,’ दूतावासका एक उच्च अधिकारीले भने । तर, उनले कुन तहमा त्यस्तो अनुरोध भएको भन्नेचाहिँ खुलाएनन् ।

तर, नक्सा विवादका कारण दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेका बेला भारतले आफूले उत्पादन गरेको खोपका लागि नेपाललाई प्राथमिकतामा राख्ला भन्नेमा अझै पनि संशय रहेको देखिन्छ । तर, दूतावासका अधिकारीहरू पछिल्लो समय दुई देशबीच संवाद सुरु भइसकेको अवस्थामा भारतले नेपाललाई पहिलो खेपमै खोप उपलब्ध गराउने विश्वास व्यक्त गर्छन् ।

साथै, उनीहरू नक्साका कारण दुई देशबीच अविश्वास चुलिएका बेलासमेत विगतमा औषधिलगायत अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकाले पनि विश्वस्त देखिन्छन् । हुन पनि तनावकै बीच पनि भारतले नेपाल सरकार र नेपाली सेनालाई विभिन्न खेपमा गरी अत्यावश्यक औषधि र स्वास्थ्य सामग्री एवं उपकरणहरू सहयोग गरेको थियो । त्यसो त भारतीय विदेश सचिव श्रृंगलाले पनि खोपको उत्पादन भएको खण्डमा भारतले आफ्ना निकट छिमेकी, मित्र, साझेदार र अन्य मुलुकलाई प्राथमिकता दिने बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अगस्ट १५ मा भएको टेलिफोन कुराकानीमा पनि कोभिड–१९ विरुद्धको खोपको प्रसंग उठेको थियो । कुराकानीमा ओलीले मोदीलाई भारतको स्वतन्त्रता दिवसको शुभकामना दिँदै भारतमा भइरहेको कोभिड–१९ विरुद्धको खोपले चाँडै सफलता पाउने विश्वास व्यक्त गरेका थिए ।

दुई देशका प्रधानमन्त्रीबीचको उक्त वार्ताले सीमा विवादका कारण चार महिनादेखि कायम संवादहीनताको अवस्था तोडिएको थियो । कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News