मुख्यमन्त्रीहरु परिवर्तन हुँदैनन् : प्रधानमन्त्री ओली


 


काठमाडौं, भदौ १३
प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीहरु परिवर्तन नहुने बताउनु भएको छ । अहिले प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषी धमालको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

मुख्यमन्त्रीहरु पनि परिवर्तन गर्न लाग्नु भएको छ रे नी ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले मुख्यमन्त्री परिवर्तन हुँदैनन र यो परिवर्तन गरिरहने पद पनि होइन भनेर जवाफ दिनुभयो । मुख्यमन्त्रीहरु परिवर्तन हुन्छन्, तर त्यो भनेको पाँच वर्षको अवधि सकिएर चुनावमा गएपछि हो ।

चुनावपछि फेरि पनि मुख्यमन्त्री हुन सक्छन् नहुन पनि सक्छन् प्रधानमन्त्री ओलीले भन्नुभयो । मुख्यमन्त्री परिवर्तन हुने कुरा अल्पज्ञानीहरुले भन्ने गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । सिंगो देश र जनता स्थिरताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरु परिवर्तन नहुने स्पष्ट पार्नुभएको हो ।

यतिबेला ६ वटा प्रदेशमा नेकपाका मुख्यमन्त्रीहरु रहनु भएको छ । पछिल्लो समय मिडिया खपतका लागि मुख्यमन्त्रीहरु पनि परिवर्तन हुने हल्ला चल्दै आएको थियो ।

नेकपा सचिवालयले गठन गरेको सुझाव कार्यदलले समेत मुख्यमन्त्री परिवर्तन सम्बन्धि कुनै सुझाव दिएको छैन् । बरु प्रदेश मन्त्रिपरिषद् हेरफेर गर्न सकिने बताएको छ । यो भनेको मुख्यमन्त्रीहरुले आफ्नो प्रदेशका मन्त्रीहरु आवश्यकता र औचित्यका आधारमा हेरफेर गर्न सक्नेछन् ।

प्रकाशित मिति: १३ भाद्र २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्