ढोरपाटनमा बाढीपहिरोले तीन जनाको मृत्यु, १० जना बेपत्ता



काठमाडौं, भदौ १८
बागलुङको ढोरपाटनमा बाढीपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । नगरपालिकाका विभिन्न वडामा आएको बाढी र पहिरोमा परेर १० जनाभन्दा धेरै बेपत्ता पनि भएका छन्।

बाढी र पहिरोले ढोरपाटन नगरपालिकाको १, ५, ६, ७, ८, र ९ नम्बर वडामा क्षति पुगेको नगरपालिकाले जनाएको छ।

बाढीले बगाएको अवस्थामा अहिलेसम्म तीन जनाको शव फेला परेको घटनास्थलमा रहेका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।

स्थानीयले बताए अनुसार अझै कम्तिमा १० जना हराइरहेका छन् । बाढी र पहिरोमा परेर कम्तिमा २५ वटा घरमा क्षति पुगेको प्रारम्भिक जानकारी हामीलाई आएको उनले बताए ।

बुधबार दिउँसोदेखि परेको अविरल वर्षाको कारण स्थानीय दोभानखोला र भुजीखोलामा आएको बाढी ठाउँ ठाउँमा खसेको पहिरोले थुनिँदा वरपरका बस्तीमा क्षति गरेको इन्सपेक्टर भण्डारीले बताए।

खोलामा फेला परेका तीनवटा शव क्षतविच्छत अवस्थामा रहेकाले सनाखत हुन नसकेको भण्डारीले जानकारी दिए। बेपत्ता हुनेमा आठ पुरुष र दुई महिला छन्।

बाढी र पहिरोमा परेर धेरै पशुचौपाया पनि मरेका छन्। घटनास्थल सदरमुकामबाट गाडी र पैदल गरेर झण्डै आठ घण्टाको दुरीमा पर्छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News