महामारीको त्रासबाट बालबालिका बचाउन मुख्यमन्त्रीको आग्रह


 


इलाम, भदौ २९

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महामारी सिङ्गो मानव जातिको नै समस्या भएकाले सचेत रहनुभएको विकल्प नरहेको बताउनु भएको छ । बाल दिवसका अवसरमा मानव अधिकार मञ्चको आयोजनामा भिडियो कन्फ्रेन्समार्फत शुभकामना दिनुहुँदै मुख्यमन्त्री राईले भन्नुभयो, “विश्व नै भयावह छ, यसबाट बालबालिका बढी प्रभावित भएका छन्” ।

मुख्यमन्त्रीले विद्यालय बन्द भएका कारण बालबालिका पढाइबाट वञ्चित रहेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय सङ्घीय सरकारसमेत बालबालिकाको क्षेत्रमा सचेतनात्मक कार्यक्रम ल्याएको बताउनुभयो । बालबालिकालाई महामारीको त्रासबाट बचाउन सचेतनाका कार्यक्रम ल्याउन मुख्यमन्त्री राईले अनुरोध गर्नुभयो ।

उहाँले कोरोना महामारीसँग लड्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । महामारीसँग जुध्न सबै नागरिकको भूमिका बराबर हुने उल्लेख गर्दै मुख्यमन्त्रीले महामारीलाई अवसरका रूपमा लिएर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति: २९ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्