यी शर्तसहित भोलीदेखि खुल्दैछन् लामो दुरीका यातायात



काठमाडौं, भदाैँ ३१
सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले यतिबेला स्वास्थ्य र आर्थिक संकट व्यहोरिरहेको बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

परराष्ट्र मन्त्री ज्ञवालीलाई सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको थियो । प्रवक्ता ज्ञवालीले असोज १ गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी खुलेसँगै स्वास्थ्य जोखिम अझ बढ्न सक्नेतर्फ सचेत रहँदै भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षा कडाइका साथ पालना गर्न गराउन आह्वान गरे ।

उनले कोभिड–१९ संक्रमणलाई हल्का रूपमा नलिन र हल्लाको पछि लागेर गम्भीर गल्ती नगर्न समेत आग्रह गरे । उनले नागरिकलाई कोरोनाबारे सही सूचना दिन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने चर्चा गर्दै कोरोना भाइरसको विषयमा विज्ञको सल्लाह लिनुहोला, हल्लाको पछि लागेर रुघाखोकी त हो नि भनेर हल्का रूपमा नलिन आग्रह गरे ।

सरकारले लामो समयपछि आन्तरिक हवाई उडान तथा सार्वजनिक यातायात असोज १ गतेदेखि खोल्ने निर्णय गरेको छ । सरकारले गत चैत ११ गतेदेखि आन्तरिक हवाई उडानका साथै सार्वजनिक यातायातमा रोक लगाउँदै आएको थियो ।

प्रवक्ता ज्ञवालीका अनुसार हवाई तथा सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड र भौतिक दूरी कायम राख्नुपर्ने छ । यसरी लामो, मध्यम तथा छोटो दूरीका यातायात सञ्चालन गर्दा साविक भाडादरमा ५० प्रतिशतसम्म थप शुल्क व्यवसायीले लिन सक्नेछन् । साविकको हवाई भाडादरमा थप भाडाका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्धारण गर्ने जनाइएको छ । सेवा प्रदायकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने छ । यात्रु चढ्ने र ओर्लने बेलामा अनिवार्य रूपमा स्यानिटाइजरको व्यवस्था सेवा प्रदायकले गर्नुपर्ने जनाइएको छ ।

यसैगरी हिमाल आरोहण तथा पदयात्रा कात्तिक १ गतेदेखि खुला गरिएको छ । आरोहण तथा पदयात्रामा स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने छ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमनमा लगाउँदै आएको रोक असोज ३० गते मध्यरातसम्म थप गरेको छ । यसअघि नेपाल–भारत सीमा क्षेत्रका १० वटा नाकाबाट मात्र आवतजावतको अनुमति दिइएकोमा थप २ नाका खुला गरिएका छन् । भारततर्फ इलाम र दार्चुलाका थप दुई नाकाबाट आवतजावत खुला गरिएको जनाइएको छ । चीनतर्फ रसुवा नाका खुला गरिएको छ । आजको गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News