संवैधानिक आयोगमा भागबण्डाको तयारी



काठमाडौं, असोज १

झण्डै दुई तिहाइ बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालको आधा समय व्यतीत हुँदा पनि संविधानतः गठन हुनुपर्ने संरचनाहरुलाई चलायमान बनाउन सकेको छैन । अहिलेसम्म संवैधानिक आयोगहरुमा ४८ पदहरु रिक्त छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आदिवासी जनजाति, मधेसीलगायतको पहिचानको मुद्दामा अरुचि राख्ने गरेको आरोप लाग्ने गरेको छ । यही आरोपलाई बल मिल्ने गरी उनले अहिलेसम्म संविधानतः बन्नुपर्ने आदिवासी जनजाति आयोग लगायतलाई पूर्णता दिने तत्परता देखाएका छैनन् ।

अहिलेसम्म रिक्त रहेका संवैधानिक आयोगहरुमा आदिवासी जनजाति आयोग, महिला आयोग र दलित आयोगमा ५–५ जना पदाधिकारीहरु चयन गर्न बाँकी छ । भाषा आयोगमा ६ पदाधिकारी खाली छन् ।

त्यसैगरी मुस्लिम आयोग, थारु आयोग, मधेसी आयोग, समावेसी आयोग र वित्त आयोगमा ४–४ जना पदाधिकारीहरु रिक्त छन् ।

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पद नै रिक्त भइसकेको छ । यो सहित अख्तियारमा ३ जना पदाधिकारी नियुक्त गर्नुपर्ने छ । त्यस्तै निर्वाचन आयोगमा दुईजना पदाधिकारी नियुक्त गर्नुपर्नेछ ।

त्यसो त संवैधानिक आयोगका पदाधिकारीहरु लामो समयसम्म रिक्त रहनुमा सत्तारुढ दलमात्रै जिम्मेवार छैन, यसमा प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पनि दोषी देखिन्छन् ।

किनभने, संविधानले व्यवस्था गरेको संवैधानिक परिषदले यी आयोगका पदाधिकारीहरुको नाम सिफारिस गर्नुपर्छ र त्यसमा विपक्षी दलको नेताको हैसियतले शेरबहादुर देउवा पनि सदस्यका रुपमा रहन्छन् ।

सरकारले समयमै संवैधानिक आयोगहरुलाई पूर्णता दिन नसक्दा विपक्षी दलको नेताले खबरदारी गर्नुपर्नेमा कांग्रेसले समयमै खबरदारी गर्न सकेन । अझ यसको उल्टो, शेरबहादुर देउवाकै कारण समयमा आयोगहरुले पूर्णता पाउन नसकेको आरोप प्रधानमन्त्रीले लगाउँदा पनि कांग्रेसले यो कुराको खण्डन गर्न सकेन । अर्थात्, कांग्रेससँग यसको खण्डन गर्ने आधार रहेन ।

यसवीचमा प्रधानमन्त्री ओलीले संवैधानिक आयोगहरुमा एकलौटी निर्णय गर्नका लागि संवैधानिक परिषद ऐन सच्याउने बदनियतले अध्यादेशसमेत जारी गरेका थिए । तर, चर्को जनदबाबपछि प्रधानमन्त्रीले त्यो अध्यादेश फिर्ता लिए ।

त्यसो त संवैधानिक परिषदले आजभन्दा दुई वर्ष पहिले नै सूचना जारी गरेर विभिन्न आयोगका पदाधिकारीहरुको माग गरेको थियो । तर, अहिलेसम्म आयोगहरुले पूर्णता पाउन सकेनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News