डा. केसीलाई जबरजस्ती ट्रमा सेन्टर लगियो, भने-‘अपहरण भयो’


 



काठमाडौं, असोज ६
चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीले आफूलाई अपहरण गरेर काठमाडौंको ट्रमा सेन्टरमा पुर्याइएको बताएका छन् । नागरिक अधिकारको हनन् भएको भन्दै उनले आफूलाई शिक्षण अस्पताल लैजान आग्रह समेत गरेका छन्।

केसीलाई आज नेपालगन्जबाट काठमाडौं ल्याइएको थियो। उनलाई विमानस्थलबाट एम्बुलेन्समा शिक्षण अस्पताल लैजाने भनेर राखिए पनि ट्रमा सेन्टर लगिएको थियो। उनी शिक्षण अस्पताल लैजानु पर्ने भन्दै एम्बुलेन्सबाट बाहिर निस्कन मानेका थिएनन्। तर प्रहरीले उनले जबरजस्ती निकालेको थियो।

सरकार, टिचिङ अस्पतालका निर्देशक र डीनको निर्देशनमा आफ्नो अपहरण भएको उनले बताए। उनले यस्तो तानाशाही शैली अब नचल्ने समेत जनाए। ‘जबसम्म मलाई टिचिङ अस्पताल लगिन्न तबसम्म ब्लड प्रेसर, रगत, तापक्रम नाप्न दिन्न र स्लाइन पनि म लिनेवाला छैन,’ डा. केसीले भने।

जुम्लाको एक मन्दिरमा अनशन बसेका केसीलाई हिजो नेपालगन्ज ल्याइएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, पीसीआर परीक्षणलाई तीव्र पार्नुपर्ने लगायतका माग राख्दै केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए।

प्रकाशित मिति: ६ आश्विन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्