कोरोना संक्रमित बढेपछि बारबर्दियामा लकडाउन


 



बर्दिया, असोज ९
कोरोना संक्रमित बढेपछि बर्दियाको बारबर्दिया नगरपालिकाले असोज ९ गते रातीदेखि १४ गते रातीसम्म लकडाउनको घोषणा गरेको छ ।

बारबर्दिया नगरपालिकाको कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार बिहान बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधीभर सरकारी तथा गैरसरकारी कार्यालय, पसल व्यवसाय, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु र यातायात लगायतका क्षेत्र पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । 

अत्यावश्यक सेवा प्रवाह गर्ने दैनिक उपभोग्य पसलहरु, दुध, हरीयो तरकारी, पानी, फलफुल र ग्याँस लगायतका पसलहरु हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ । 

लकडाउनलाई प्रभावकारी बनाउनका लागि नगरपालिकाले वडाध्यक्ष र वडाबासीलाई समेत जानकारी गराई प्रचारप्रसार गर्ने बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारुले बताए  ।

त्यसैगरी नगरपालिकाले लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई अंशुवर्मा मावि जयनगरमा राख्ने र भारत लगायत तेस्रो मुलुकबाट आउनेलाई नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड प्रयोग गरी होम क्वारेन्टाइनमा बस्न लगाउने लगायतका निर्णय गरेको छ । 

बारबर्दिया नगरपालिकामा हालसम्म ६५ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरुमध्ये ३१ जना कोरोना जितेर घर फर्किएका छन् भने एक जनाको कोरोनाका कारण मृत्यु भएको बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले बताए   । 

गत मंगलबार बारबर्दिया नगरपालिका वडा नं ३ का वडाध्यक्ष ३९ वर्षीय सुर्यबहादुर थारुको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो  ।

प्रकाशित मिति: ९ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्