भारतीय सेना प्रमुख नरवणे काठमाडौंमा


 


काठमाडौं, कात्तिक १९

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत अभिवादन गर्नुभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न यहाँ आउनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नु हुनेछ । सोही अवसरमा राष्ट्रपतिसँग उहाँको भेटवार्ता हुनेछ ।

नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणेले १८औँ सेनापति हुनुहुन्छ । नेपाली सेनाले स्थलसेनाध्यक्ष नरावणेको भ्रमणको मुुख्य उद्देश्य परम्पराको निरन्तरता नै भएको नेपाली सेनाले जानकारी दिएको छ ।

स्थलसेनाध्यक्ष नरावणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ । त्यसलगत्तै सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नु हुनेछ ।

सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदान सम्बन्धी तेह्राँै बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरावणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुुहुुने छ । उहाँको सम्मानमा भोलि नै जङ्गी अड्डामा रात्रीभोज आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरावणेले शुुक्रबार औपचारिक भेट गर्नु हुनेछ ।

प्रकाशित मिति: १९ कार्तिक २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्