सामसुङ नोट ७ को उत्पादन बन्द, स्विच अफ गरेर राख्न सामसुङको अपिल


 


मर्मतपछि सुरक्षित भनी बजारमा पठाइएका ग्यालेक्सी नोट सेभेन स्मार्टफोनमा समेत आगलागी भएको घटना सार्वजनिक भएपछि सामसुङले तत्कालै नोट सेभेन स्विच अफ गरेर राख्न आफ्ना प्रयोगकर्तालाई अपिल गरेको छ ।

सोमबार एक चेतावनी जारी गर्दै सामसुङले नोट सेभेन प्रयोगकर्तालाई यस्तो आग्रह गरेको हो ।

उपभोक्ताको सुरक्षामै खतरा उत्पन्न गराएको नोट सेभेनको उत्पादन बन्द गर्ने घोषणा गरेको एक दिनपछि नै सामसुङले यस्तो अपिल गरेको हो ।

एक विज्ञप्ती जारी गर्दै सामसुङले ग्यालेक्सी नोट सेभेनको बिक्रि तथा सट्टापट्टा बन्द गर्नका लागि सबै प्रयोगकर्ता तथा बिक्रेताहरुलाई आग्रह गर्ने र सुरक्षित भनिएका नोट सेभेनमा आगो लागेको घटनाको छानविन गर्ने जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ ः पूरानो नोट सेभेन वा पछि साटेको नोट सेभेन जुन भएपनि सबै प्रयोगकर्ताले डिभाइस स्विच अफ गरेर राख्नुहोस्् र प्रयोग नगर्नुहोस् ।

ग्यालेक्सी नोट सेभेन आगलागीको यो घटना दक्षिण कोरियाली कम्पनी सामसुङका लागि ठूलो धक्का भएको बताइएको छ । नोट सेभेन प्रयोग नगर्न सामसुङले जारी गरेको दोश्रो अपिलसँगै सोमबार सिओलमा कम्पनीको शेयर मूल्यमा ५ प्रतिशतले गिरावट आयो ।

सामसुङले गत अगष्टमा बहुप्रतिक्षित ५.७ इन्चको ग्यालेक्सी नोट सेभेन फ्याब्लेट सार्वजनिक गरेको थियो । एप्पलको आइफोन सेभेनको प्रतिस्पर्धी ठानिएको थियो यसलाई । तर बजारमा पठाए लगत्तै नोट सेभेन विस्फोट भएका घटना सार्वजनिक हुन थाले ।

लिथियम आयोन ब्याट्रीको समस्याका कारण चार्ज गर्दा नोट सेभेन बढि तातेर त्यसमा आगो लागेको सामसुङले प्रष्टिकरण दिँदै सेप्टेम्बरको सुरुमा विश्वका १० देशका बजारहरुमा पठाएका २५ लाख नोट सेभेन फिर्ता लिने घोषणा गरेको थियो ।

सामसुङले आगो लाग्ने समस्याग्रस्त नोट सेभेनको साटो सुरक्षित भनिएका नोट सेभेन दिन सुरु गरेको थियो । तर, सुरक्षित भनिएका फोनमा पनि आगलागीका घटना हुन थालेका थिए ।

गत हप्ता एक अमेरिकी प्रयोगकर्ताले आफ्नो पछिल्लो नोट सेभेनमा आगलागी भएको कुरा सार्वजनिक गरे । गत बुधबार अमेरिकाकै एक विमानभित्र उडानअघि नोट सेभेनमा आगलागी भएर धुवाँ निस्किँदा उडान नै अबरुद्ध भएको थियो । अमेरिकी उपभोक्ता उत्पादन सुरक्षा आयोगले यो घटनाको छानविन गरिरहेको छ ।

ग्यालेक्सी नोट सेभेन स्विच अफ गरेर राख्न तथा प्रयोग नगर्न सामसुङले जारी गरेको अपिललाई अमेरिकी उपभोक्ता उत्पादन सुरक्षा आयोगले स्वागत गरेको छ ।
सिएनएन

प्रकाशित मिति: २५ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्