चिसोमा त्रिपालमुनि रात काट्दै पहिरो विस्थापित, चार महिनादेखि सडककै बास


 



अंकुश कुँवर/धनगढी, मंसिर २३
कैलालीको चुरे गाउँपालिकास्थित खानीडाँडा नजिकै बेल्चापलानमा सडक किनारमा टाँगिएका त्रिपालमा बसिन्छन् ९६ वर्षीया बृद्धा लालमती धामी पनि । सडक किनारमा सोही गाउँपालिकाका पहिरो विस्तापित परिवार त्रिपाल टाँगेर बसिरहेका छन् । त्यही त्रिपालमा साँझपख झिसमिसेमा सडक किनारमै भेटिएकी हुन् लालमती पनि । उनी भन्दैथिइन्, ‘अब यतै मरिन्छ होला ।’

जीवनको उत्तराद्र्धमा पुगेकी लामतिलाई के खाने के लागाने भन्ने चिन्ता भइरहेका बेला अहिले चिसोबाट कसरी बाचौं भन्ने चिन्ता छ । उनी अहिले परिवारसहित त्रिपालमुनि नै बस्छिन् । पहिरोबाट विस्थापित भएर सडकमा आएपछि खान लगाउन नपाएका बेला अहिले थप चिसोबाट कसरी बाँच्ने भन्ने चिन्ता उनीसहित विस्थापित परिवारलाई छ ।

साउन महिनाको अन्तिमतिर जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ बाट विस्थापित भएर आएकामध्ये अहिले पनि १० परिवार सडकमै छन् । गाउँपालिकाको पटे«नी र सल्लेरीबाट पहिरोबाट विस्थापित भएका २९ परिवारलाई गाउँपालिकाले सडक किनारमा राखेको थियो । त्यसमध्ये पहिरोको जोखिम भएको तर घर नभत्केको र जग्गा जमिन भएको अवस्थामा विस्थापित भएका केही परिवार भने अहिले घर फर्किएका छन् ।

यद्यपि उनीहरु सधैँका लागि भने घर गएका होइनन् । सडकमा बसेर गुजारा नचल्ने भएपछि हिउँद काट्न घर गएका हुन् । गाउँपालिकाले पहिरोको जोखिम रहेका ठाउँका बासिन्दालाई स्थानान्तरण गर्नका लागि भन्दै सडक किनारमा राखेको थियो । तर, स्थानान्तरणको टुंगो नलागिसकेका कारण कोही गाउँमै फर्किएका हुन् भने केही सडक किनारमै त्रिपालमुनि छन् ।

घरसहित जग्गा जमिनसमेत पहिरोले बगाएका १० परिवारको अन्त जाने ठाउँ छैन । उनीहरुले सडक किनारमा बस्नुको विकल्प पनि छैन । जीवन धान्न दैनिक मजदुरी गर्दै आएका उनीहरुलाई अहिले चिसो मौसममा समस्या भएको छ । ‘त्रिपालमाथि परेको सीत भित्रैसम्म जान्छ’ पीडित जयबहादुर धामीले दुखेसो पोखे, ‘त्रिपाल भित्र पनि रातभर आगो बालेर बसेका छौं ।’ चिसोले गर्दा बालबालिका र बृद्धबृद्धालाई बढी समस्या भइरहेको उनले बताए ।

शरीर ढाक्ने बाक्लो कपडा र ओड्ने ओछ्याउनेको अभाव हुँदा चिसो काट्ने गाह्रो भइरहेको अर्का पीडित नरिभान धामीको दुखेसो छ । ‘गाउँपालिकाकाले कहाँ बसाउँछ भन्ने चिन्ता लागिरहेको बेला चिसोले अर्को समस्या थपिएको छ’ उनले भने ‘अहिले त सबैले मतलव गर्न छोडिसके ।’ अहिले स्थानीय, प्रदेश र केन्द्र सरकारले हाम्रा लागि के गरिरहेको छ भन्ने पनि कुनै जानकारी नभएको उनी बताउँछन् । ‘यसअघि जनप्रतिनिधिहरु माग पूरा नगरेपनि समस्या सुन्न त आउँथे,’ उनले भने, ‘अहिले त कसैले पनि फर्केर हेरेका छैनन् ।’

‘यसअघि वडाध्यक्ष पनि आउँथे अहिले आउँदैनन्’ उनीहरु भन्छन्, ‘अहिले फोन गरेपनि उठाउँदैनन् ।’ पहिरोले घर जग्गाजमिन बगाएर सडक किनारमा पुगेका उनीहरु अहिले सडकमै मजदुरी गरेर दैनिक गुजारा चलाइरहेका छन् । न्यायो कपडा किन्न सक्ने क्षमता नभएका उनीहरु सहयोगको अपेक्षामा छन् ।

अहिलेसम्म कसैले पनि न्यायो कपडा सहयोग नगरेको उनीहरु बताउँछन् । ‘सरकारले त सहयोग गर्ला भन्ने आशा छैन,’ उनीहरु भन्छन्, ‘कुनै परोपकारी संस्थाहरुले सहयोग गर्ला कि भन्ने आशा बोकेका छौं ।’ गाउँपालिकाले उनीहरुलाई स्थानान्तरण गर्न जग्गाका लागि पहल गरिरहेका छ । उद्यपि उनीहरुलाई कहिले स्थानान्तरण गरिन्छ भन्ने टुंगो लागेको छैन । पीडितहरु प्नि यसबारेमा अनभिज्ञ नै छन् ।

प्रकाशित मिति: २३ मंसिर २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्