व्यस्त सडकमै जथाभावी पार्किङ


 



धनगढी, मंसिर २७
सवारी साधान पार्किङले गर्दा छोपिएको सडकमा आवत–जावत गर्न सवारी साधानलाई मात्रै होइन पैदल हिड्न पनि समस्या । कैलालीको जिल्ला मालपोत कार्यालय र नापी कार्यालय अगाडिको सडकको अवस्था अहिले यस्तै छ ।

‘यताउताबाट ठूलो गाडी आयो भने छिर्ने ठाउँ छैन, वारिपारि गाडी पार्किङ गरिएको छ,’ सो बाटो हुँदै पैदल हिडिरहेका धनगढी ५ का पदम खड्काले भने, ‘त्यतिबेला पैदल हिड्ने मानिसलाई कता गएर साइड लागौं भन्ने हुन्छ ।’ उनले सेवाग्राही बढ्दै गएपछि यो समस्या झन बढने हुँदा समयमै समाधानको बाटो खाज्नुपर्ने बताए ।

कोरोना महामारीकाबीच पनि मोलपोत तथा नापी कार्यालयमा सेवाग्राहीको भीड कम छैन । कोरोना भाइरस संक्रमणको कुनै प्रवाह नगरेर सेवाग्राही जग्गा सम्बन्धी कारोबार गर्न यी दुई कार्यालयमा धाइरहेकै छन् ।

मालपोत र नापी कार्यालयले सेवाग्राहीको भीडलाई कम गर्न सेवा प्रवाहको समय तालिका बनाएपनि भीडभाड घटेको छैन । त्यसैपनि सबैभन्दा बढी सेवाग्राहीको भीड हुने यी दुई कार्यालयमा अहिले झन बढी भीड लाग्ने गरेको छ । सेवाग्राही बढ्दा सवारी साधन पनि स्वतः बढ्ने हुँदा कार्यालय परिसरमा पार्किङको समस्या झन बढी भएको छ ।

यसअघि कार्यालयको गेट भित्रै कोचाकोच गरेर सवारी साधन पार्किङ गर्ने गरिएको थियो । तर, अहिले भित्र भएकै जति सवारी साधन गेट बाहिर सडकमै पनि पार्किङ गर्न थालिएको छ । जसले गर्दा सो सडक हुँदै सवारी साधनलाई मात्रै होइन पैदल हिड्ने मानिसलाई पनि समस्या भएको हो ।

मालपोत र नापी कार्यालय नजिकै प्रदेश सामाजिक विकास मन्त्रालय, सेती प्रादेशिक अस्पताल, सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र र वडा प्रहरी कार्यालय छन् । यी सबै कार्यालय अति सम्वेदनशील कार्यालयमा पर्छन् । सो सडक हुँदै प्रहरीको गाडी, एम्बुलेन्सलगायतका इमर्जेन्सी सवारी साधनहरु आवत–जावत गर्नुपर्ने हुन्छ । तर सडककै सवारी पार्किङ गर्दा इमर्जेन्सी गाडीहरुलाई आवत–जावत गर्न असहज भइरहेको छ ।

मोलपोत र नापी कार्यालय परिसरमा गरिने पार्किङ पनि अव्यवस्थित छ । गेट भित्र मिलाएर पार्किङ गरेर नराख्दा सडकमै पार्किङ हुने गाडीको संख्या पनि बढी देखिको छ ।

मालपोत कार्यालय कैलालीका प्रमुख मालपोत अधिकृत सुरेन्द्र केसीले सडकमा गाडी पार्किङ नगर्न आग्रह गर्दा पनि सेवाग्राहीहरुले नछोडेको बताए । ‘कार्यालय परिसरमै पार्किङका लागि जमिन अभाव छ,’ उनले भने, ‘तरपनि मैले सडकमै गएर पार्किङ निषेध भनेर टाँसेको पनि छु, कसैले मान्दैनन् ।’

पार्किङ समस्या समाधानका लागि आफूले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडसंग पनि कुरा राखेको उनले बताए । ‘यो समस्या मेयरसापलाई पनि राखेको हुँ,’ प्रमुख मालपोत अधिकत केसीले भने, ‘उहाँले अब यो सडक सहरी विकास आयोजना अन्तर्गत चौडा हुँदैछ, अहिले रोक्नुहोस् भन्नुभयो ।’ सडक चौडाई नभएसम्मका लागि यो समस्या पूर्ण रुपमा समाधान हुने जस्तो नदेखिएको उनको भनाई छ ।

प्रमुख नापी अधिकृत सुदर्शनसिंह धामीले दुईवटा कार्यालयका सेवाग्राही एउटै ठाउँमा हुँदा सानो ठाउँमा पार्किङको पनि समस्या भइरहेको बताए । उनले सडकको पार्किङ समस्या समाधानका लागि के गर्न सकिन्छ भनेर सरोकारवालाहरुसंग छलफलसमेत गरेको बताए । सडक सहरी विकास आयोजना अन्तर्गत सडक चौडा गरेर कार्यालयको जमिन झन साँघुरिने हुँदा पछि झन समस्या उत्पन्न उनको भनाई छ ।

‘पहिलेको भूमिसुधारको कार्यालयमा उपमहान्यायाधिवक्ताको कार्यालय राखिएपछि स्थान साँघुरिएको थियो,’ उनले भने, ‘सडकनै चौडाई भएपछि झन ठाउँ अभाव हुन्छ र पार्किङको समस्या यथावत रहन्छ ।’ उनले यसको समाधानका लागि सरोकारवालाबीच छलफल गरेर अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति: २७ मंसिर २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्