मुख्यमन्त्री राईद्धारा उद्यौली, तमु ल्होसार, धान्य पूर्णिमा र योमरी पुन्हिको शुभकामना


 


विराटनगर, पुस १५
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किँरात समुदायको महान चाड उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर, कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातीको तमु ल्होसार, धान्यपूर्णिमा र योमरी पुन्हि २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यहाँ मनाउने उद्यौली, चाक्चाकुर, तमु ल्होसार, धान्यपूर्णिमा, योमरी पुन्ही जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको छ ।

यस प्रकारका मौलिक साँस्कृतिक चाड पर्वहरुले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेको सन्देशमा उल्लेख छ । धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउने तर्फ लाग्नु हामी सबैको कर्तव्य समेत रहेको मुख्यमन्त्री राईले उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री राईले सुरक्षित र सजगता अपनाएर चाडपर्व मनाउन समेत आग्रह गर्नुभएको छ । विगत वर्षहरुमा हर्षाेल्लासका साथ मनाउँदै आएका हाम्रा चाडपर्वहरु यसबर्ष कोरोना भाइरसका कारण असहज र अप्ठ्यारो परिस्थितिमा मनाउनु परेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न जो जहाँ छौं, त्यही बसेर सुरक्षित तवरले चाडपर्व मनाउन मेरो विशेष अनुरोध छ, आफ्नो शुभकामना सन्देशमा मुख्यमन्त्री राईले उल्लेख गर्नुभएको छ ।

यी पर्वले नेपालका सबै जातजाती एकताबद्ध भै आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु मुख्यमन्त्रीद्धारा जारी गरिएको सन्देशमा भनिएको छ ।

प्रकाशित मिति: १५ पुस २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्