प्रदेश संरचना संघीयताको मुटु : मुख्यमन्त्री राई


 


विराटनगर, २३ पुस
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना संघीयताको मुटु भएको बताउनु भएको छ । केन्द्र र स्थानीय तहको प्रयोग लामो समयदेखि भएपनि प्रदेश संरचना नयाँ भएको उहाँले बताउनुभयो । आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलोपटक मन्त्रालय पुग्नुभएका मुख्यमन्त्री राईले प्रदेश १ को आर्थिक अवस्थाबारे जानकारी लिएपछ संघीयताको मुटु प्रदेश भएजस्तै प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको बताउनुभयो ।

प्रदेश सरकारको मुटु पहिलो बर्ष राम्रै चलेपनि दोश्रो बर्षको अन्त्यदेखि समस्या देखिदै गएको आफुले पाएको उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो,‘चालु आर्थिक बर्षको बजेट प्रस्तुत भएर पारित भईसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहाभयो ।’ प्रदेशको बजेट दुर्घटनाबाट अघि बढेको रहेछ उहाँले भन्नुभयो । समस्या पहिचान भएकाले उपचारको प्रकृया शुरु भईसकेको मुख्यमन्त्री राईको भनाई छ । उहाँले भन्नुभयो,‘ मन्त्रालयका सचिवले चिकित्सकको भूमिका निर्वाह गरिरहनु भएको छ ।’ मुटुको सफल उपचारपछि सरकारलाई गतिशिल बनाउने उहाँले बताउनुभयो । क्रोनिक एकै पटक देखा नपरेको मुख्यमन्त्री राईले बताउनुभयो । आर्थिक मामिला मन्त्रालय कस्का कारण यो अवस्थामा आइपुग्यो भन्ने सवै रिपोर्टिङ आफुले पाएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले सही र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तिय अनुशासन कायम नभएकोबारे विभागिय मन्त्रीलाई पटक–पटक सचेत गराएको उहाँले बताउनुभयो । उहाँले मन्त्रालयमा देखिएको वेथितिलाई पूर्णरुपमा निर्मुल गर्न निर्देशन दिनुभएको छ । प्रणालीको विकास हुन नसक्दा मुलुकको दिगो र व्यवस्थित विकास हुन नसकेको उहाँले बताउनुभयो । प्रदेशमा प्रणालीको विकास गरि अनुसंधानमा आधारित विकास कार्यअघि बढाईने उहाँले बताउनुभयो । वित्तिय अनुशासन कायम राख्न मन्त्रालयका कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो,‘ गल्ती कमजोरी कहिँ कतैबाट हुन दिनुभएन ।’

पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौलता देखिएपनि अन्यौलतामा नपरी काम गर्न कर्मचारीहरुलाई उहाँले आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले भन्नुभयो,‘ प्रदेशमा जसरी घटनाक्रम अघि बढेको छ, यसको भ्रममा नपर्नुहोला ।’ आगामी माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो । आफु नेतृत्वको सरकार अघि बढ्ने बताउँदै उहाँले भन्नुभयो,‘ कोही, कतै र कसैबाट पनि प्रभावित नहुनुहोला ।’ उच्च मनोवलका साथ काम गर्न कर्मचारीहरुलाई उहाँको आग्रह छ । आर्थिक मन्त्रालयको नेतृत्व अव ठिक ढंगबाट हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २३ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्